बास्कोटाले भने: हस्ताक्षर फिर्ता नलिए एमाले एकता हुँदैन - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

बास्कोटाले भने: हस्ताक्षर फिर्ता नलिए एमाले एकता हुँदैन



काठमाडौं- नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले अदालतमा बुझाएको सही फिर्ता नलिएको खण्डमा एमाले एकता नहुने बताएका छन् । उनले सही फिर्ता लिए जेठ ३ अघिको बैठक बस्ने नत्र टाउको दुखाउन नपर्ने बताएका छन् ।

एमालेभित्र दोस्रो पुस्ताका नेताहरूले एकताको प्रयास गरिरहेका बेला बास्कोटाले यस्तो बताएका हुन् । उनले अदालतमा विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेपाल पक्षले दिएको हस्ताक्षर फिर्ता लिने र जेठ ३ अघिको बैठक बस्ने आधारमा मिल्न सकिने पनि उल्लेख गरेका छन्।

त्यसो नहुने हो भने एकताको प्रयास गर्नु व्यर्थ हुने उनको तर्क छ। एमालेमा अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका दोस्रो तहका नेताहरु पार्टी मिलाउनका लागि भन्दै निरन्तर संवादमा छन्। यसैलाई व्यंग्य गर्दै ओलीनिकट नेता बास्कोटाले एकता हुने मै पनि आशंका गरेका छन्।

‘एकताको खिचडी पकाउन दत्तचित्त भएर लागेका कमरेडहरु नै थाके कि के हो? उनले ट्वीटरमा लेखेका छन्, ‘खिचडी पाक्ने त हो–होइन, चुल्हो धुवाँएको पनि देखिएन। कि असारे झरीमा झुर्का भेटिएन?’

‘अदालतमा बुझाएको सही फिर्ता लिने, जेठ ३ अघिको बैठक बस्ने। उनले अगाडी लेखेका छन्, ‘त्यो नमान्ने भए भो छोड्दिम झुर्का खोज्ने र टाउको दुखुञ्जेल ढुङ्ग्रो फुक्ने काम ।’