अब पठाओ र टुटल पनि संचालन हुने
काठमाडौं । करिब २ महिनादेखि निषेधाज्ञाका कारण बन्द रहेका पठाओ र टुटल सेवा भोलि (असार ८) गते मंगलबारदेखि सञ्चालनमा आउने भएका छन् ।
टुटल र पठाओ कम्पनीका अनुसार सरकारले निजी सवारीमा जोरबिजोर लागु गरेकाले आफूहरु पनि जोरबिजोर अनुसार नै सेवा सञ्चालनमा ल्याउने बताएका छन् ।
काठमाडौं उपत्यका तीन जिल्लाका सीडीओको बैठकले निजी सवारी साधनमा जोर बिजोर लागु गर्ने निर्णय गरेको थियो । जस अन्तर्गत टुटल र पठाओ सेवा पनि पर्दछन् । करिब दुईमहिनादेखि ट्याक्सी, मोटरसाइकलमा टुटल र पठाओ सेवा सञ्चालन हुन पाएका थिएनन् ।
पठाओ कम्पनीका मार्केटिङ म्यानेजर सुरक्षा हमालका अनुसार निषेधाज्ञाकै बीच सरकारले जोरबिजोर लागु गर्दा टुटल र पठाओ सेवा सञ्चालनमा ल्याइने जानकारी दिइन् । उनका अनुसार पठाओ कम्पनीमा सरकारको लागु गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै सेवा सञ्चालन गरिनेबारे छलफल भइरहेको छ ।
टुटल सेवा पनि सञ्चालन गरिने टुटल कम्पनीले जनाएको छ । सरकारले कोरोना महामारी रोकथाम गर्न निजी सार्वजनिक सवारी साधन वैशाख १६ गतेदेखि सञ्चालनमा छैनन् ।