दीपक मनाङेले किन भेटे प्रचण्डसँग ?
काठमाडौं । गण्डकी प्रदेशका मन्त्री दीपक मनाङेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । उनले आइतबार प्रचण्डसँग भेट गरेका हुन् ।
आइतबार प्रचण्डको निवास खुमलटार पुगेका मनाङेले समसामयीक राजनीतिक विषयमा छलफल गरेको उनका सहयोगीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । मनाङेले प्रचण्ड र उनकी छोरी गंगा दाहालसँग सामूहिक तस्वीर खिचाएर सामाजिक सञ्जालमा राखेका छन् ।
दाहालसँगको भेट गरेपछिको तस्बिर सार्वजनिक गर्दै मनाङेले फेसबुकमा लेखेका छन्, ‘प्रचण्डज्यू सँग पछिल्लो राजनैतिक घटनाक्रमबारे बृहत छलफल पश्चात लिएको तस्बिर ।’
एमाले नेतृत्वको प्रदेश सरकारमा युवा तथा खेलकुद मन्त्री रहेका मनाङेले मुख्यमन्त्री पृथ्वी सुुब्बा गुरुङले विश्वासको मत माग्दा तटस्थ बसेका थिए । पछि नेपाली कांग्रेस, माओवादी केन्द्रसहितको विपक्षी गठबन्धनका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका थिए ।
हाल गण्डकी सरकारमा उनी विना विभागिय मन्त्री रहेका छन् ।