देउवाको प्रस्तावले कांग्रेसभित्र खैलाबैला - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

देउवाको प्रस्तावले कांग्रेसभित्र खैलाबैला



काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय समितिको बेठकले भदौ १६ देखि १९ गतेसम्मका लागि १४ औं महाधिवेशन आयोजना गर्ने निर्णय गरेपछि कांग्रेसमा महाधिवेशनको सरगर्मी देखिएको छ ।

महाधिवेशनको माहोल तात्ने लाग्दा देउवाले ल्याएको एउटा पार्टीभित्र खैलाबैला मच्चिएको छ । पटक–पटक असक्षम नेतृत्वदायी भूमिका निर्वाह गरेको आरोप लाग्दै आएका सभापति शेरबहादुर देउवाले पुनः सभापतिमा दावी गर्ने बताएपछि अन्य आकांक्षीहरु तनावमा देखिएका छन् ।

देउवाले शनिबार विहान निवासमा आफू निकट नेताहरुसँग भेट गर्दै फेरि सभापतिमा लड्न तयार रहेको बताए । उनले आफूभित्र रहेका केही कमी कमजोरी सुधार गर्दै फेरि सभापतिमा लड्ने तयारी गरेकाले त्यसमा साथ दिन आफू निकटका नेताहरुलाई आग्रह गरेका छन् ।

देउवाले शनिबार बिहान प्रदेश १ का नेताहरुलाई आफ्नो निवासमा बोलाएका थिए । उनीहरुसँगको छलफलमा उनले आफू पुनः सभापतिमा लड्ने बताएका हुन् ।

छलफलमा सहमहामन्‍त्री सुनिल थापा, ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, भीष्मराज आङ्दम्बे, सीता गुरुङ, सुजता परियार,रामकृष्ण भट्टराई, बाबुराम बस्‍नेत, डिला संग्रौलालगायत सहभागी थिए । छलफलमा उनले पार्टीलाई एकढिक्का र सुदृढ बनाउन फेरि एकपटक नेतृत्व लिनुपर्ने अवस्था आएको बताएका थिए ।

यसपटकको महाधिवेशनमा कांग्रेसमा सभापतिका लागि शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्‍त्री सशांक कोइराला, शेखर कोइराला, कृष्ण सिटौलालगायतका नेताहरू आकांक्षीका रुपमा देखिएका छन् । देउवाको उक्त प्रस्तावपछि नेतृत्वमा दावी गर्ने नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

निर्वाचित नेतृत्वको नियमित चार वर्षे अवधि गत २०७६ फागुनमै सकिएको थियो । पार्टीको विधानले दिएको सुविधा उपयोग गर्दै एक वर्ष थपिएको थियो ।

पूर्व निर्धारित तालिकाअनुसार गत फागुन ७ देखि १० गतेसम्म पार्टीको १४औं महाधिवेशन काठमाडौंमा हुनुपर्ने थियो । तर, कोरोना संक्रमणलगायतका कारणले त्यो संभव नभएपछि कांग्रेसले महाधिवेशन फेरि छ महिना सार्ने निर्णय गरेको थियो । थपिएको त्यो अवधिमा पनि संभव नभएपछि संविधानको विशेष प्रावधानअनुसार छ महिनामा थपिएको हो ।

सभापति शेरबहादुर देउवालाई यसअघिको निर्वाचनमा पार्टीलाई हार दिलाउनमा जिम्मेवार भएको आरोप लाग्दै आएको छ । जनताप्रति कांग्रेसको लोकप्रियता घटाउने काम देउवाले नै गरेको आरोप लगाउँदै उनले नेतृत्व छाड्नुपर्ने कांग्रेभित्र आवाज उठ्दै आएको थियो ।