महन्थ ठाकुरमाथि गम्भीर आरोप - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

महन्थ ठाकुरमाथि गम्भीर आरोप



काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)क अध्यक्ष महन्थ ठाकुरमाथि गम्भीर आरोप लागेको छ । जसपाको उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष ठाकुरले निर्वाचन आयोगमा जालसाजी गरी फर्जी दस्तावेज बुझाएको आरोप लगाएको छ।

‘कार्यकारिणी हेरफेर, प्रमाणीकरण तथा पार्टीको आधिकारिक पत्राचारको अधिकार’ ठाकुरलाई दिएको भन्ने फर्जी निर्णय निर्वाचन आयोगमा बुझाइएको उपेन्द्र पक्षले आरोप लगाएको हो।

जसपाभित्र विवाद बढ्दै गएपछि महन्थ पक्षले २०७७ पुस ७ गते बसेको कार्यकारिणी समितिको बैठकले जसपाको कार्यकारिणी समिति हेरफेर तथा पुनर्गठनसम्बन्धमा ठाकुरलाई अधिकार प्रत्यायोजन गरेको भन्दै असार १ गते कार्यकारिणी समिति हेरफेर गरिएको जानकारी आयोगमा बुझाएका थिए।

पुस ७ गतेको निर्णयलाई आधार बनाएर ठाकुरले पूर्वराजपाका ६ र पूर्वसमाजवादी तर्फका १४ जनालाई हटाएर २० जनालाई नयाँ सदस्य मनोनित गरिएको भन्दै अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन्।

तर, उपेन्द्र पक्षले हुँदै नभएको निर्णयलाई निर्णय भएको भनि झुटा विवरण किर्ते र जालसाजी गरेर निर्वाचन आयोगमा पत्र दर्ता गराएको दाबी गरेको छ।

‘पुस ७ गतेको बैठकमा केन्द्रीय कार्यकारिणी हेरफेर तथा पुर्नगठन गर्ने अधिकार महन्थ ठाकुरलाई दिने प्रस्ताव कार्यसूचीमै थिएन र त्यस्तो कुनै निर्णयपनि भएको छैन,’ जसपा प्रचार विभाग प्रमुख डम्बर खतिवडाले,‘हुँदै नभएको निर्णयलाई किर्ते र जालजासी गरी महन्थ ठाकुरले निर्वाचन आयोगमा पत्र दर्ता गराएका छन्।’

निर्वाचन आयोग, पार्टी पंक्ति र आमजनतालाई गुमराह गर्ने उद्देश्यले नक्कली बैठक पुस्तिका तयारी गरी गरिएको कार्य अनैतिक, गैरकानुनी तथा दण्डनीय रहेको उनको भनाइ छ।

पुस ७ गते बसेको जसपा कार्यकारिणी समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटको कदमविरुद्ध आन्दोलनको कार्यक्रममात्र घोषणा गरेको खतिवडाले बताए।

पुस ७ गतेको बैठकपछि जसपाले जारी गरेको विज्ञप्ति र अन्तरपार्टी परिपत्रमा पनि प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा देशका विभिन्न स्थानमा खटाइएका नेताहरूको विवरणमात्र उल्लेख गरिएको थियो।