प्रदेशको नाम तमुवान राखे सरकार जोगाइदिने अफर आएको गुरुङको खुलासा - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

प्रदेशको नाम तमुवान राखे सरकार जोगाइदिने अफर आएको गुरुङको खुलासा



कास्की- गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशको नाम तमुवान राखे आफु नेतृत्वको सरकार जोगाइदिने अफर आएको खुलासा गरेका छन् । शुक्रबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मागेको विश्वासको मतको विषयमा छलफल गर्दै उनले यस्तो खुलासा गरेका हुन्।

पूर्वमुख्यमन्त्री गुरुङले कुन पार्टीले त्यस्तो प्रस्ताव राख्यो भन्ने विषय भने खुलाएनन्। प्रतिपक्षमा बसेर सरकारको विरोध गर्नै पर्छ भन्ने प्रवृत्तिको अन्त्य गर्न नेकपा एमाले लागेको उनले बताए। ‘यो समीकरण बनाउने बेला धेरै साथीहरुसँग कुरा गर्‍यौँ। एउटा पार्टीले भन्यो प्रदेशको नाम तमुवान राखिस् भने तेरो सरकार जोगाउँछु भनेर, मैले मानिनँ। चाहिँदैन, यो बाटोमा हिँड्न सक्दिनँ भनें’, उनले भने।

‘प्रतिपक्षमा बस्ने बित्तिकै सरकारको निरपेक्ष रुपमा खण्डन गर्नुपर्ने, निरपेक्ष रुपमा विरोध गर्नुपर्ने जुन खालको संस्कार अहिले पनि छ। त्यो संस्कारबाट यो प्रतिपक्ष दल नेकपा एमाले, संसदीय दलमुक्त हुन चाहन्छ’, उनले भने। संघीयता कार्वान्वयन गर्न काम नगर्नेहरूले नै संघीयताबारे धेरै कुुरा गर्ने गरेका भन्दै उनले व्यंग्य गरे।

‘मलाई त हाँसो कहिलेकाहीँ किन लाग्छ भनेदेखि जसको चाहिँ खुट्टा छैन, उसको नाम टेकबहादुरभन्या जस्तो, जसको सिङ छैन उसको नाम तिखे भन्याजस्तो संघीयताको धेरै कुराकानी गर्ने संघीयतालाई सफल बनाउने कुरा,संघीयतालाई बलियो बनाउने काममा आफ्नो भूमिका निर्वाह नगर्ने त्यस्तो प्रतिपक्ष हैन’, उनले भने।