गठबन्धनका कारण कांग्रेसभित्र बबण्डर सुरू: बैठकमै विद्रोहको चेतावनी
काठमाडौं- प्रधानमन्त्री ओली विरुद्धको गठबन्धनका कारण नेपाली कांग्रेसभित्र पनि बबण्डर सुरू भएको छ । विपक्षी गठबन्धनको विषयलाई लिएर नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा नेताहरूबीच भनाभन नै भएको छ ।
बिहीबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा विपक्षी गठबन्धनले गर्ने हरेक निर्णयको बारेमा पार्टीमा जानकारी नगराइएको भन्दै केहि नेताहरू सभापति शेरबहादुर देउवामाथि खनिएका थिए । नेताहरूबीच भनाभनको अवस्थाले बैठकमा निकै तनावको स्थिति बनेको सहभागी एक नेताले बताए ।
गठबन्धन र पछिल्ला एकलौटी निर्णयले बैठकमा झन्डै हात हालाहालको अवस्था आएको ति नेताले बताए । यी विषयमा नेताहरुबीच गम्भीर भनाभन भएको र आगामी कार्यक्रमबारे पार्टीमा जानकारी नभए बिद्रोह समेत गरिने नेताहरूले बताएका थिए ।
खासगरी देउवाइतरका नेताहरुले विपक्षी गठबन्धनका बारेमा चर्को आलोअचना गरेका थिए । खास निर्णय गर्ने र विज्ञप्ति जारी गर्ने बिषयमा पार्टीभित्र कुनै छलफल हुन नसकेको भन्दै ति नेताहरूले सभापति देउवाको आलोचना गरेका थिए। नेता महेश आचार्यले गठबन्धनका विषयमा प्रश्न उठाएपछि देउवा आक्रोशित बनेका थिए ।
आचार्यलगायतका केहि नेताहरू देउवामाथि खनिएपछि देउवा आक्रोशित बनेका थिए। आचार्यले विपक्षी गठबन्धनमाथि नै प्रश्न उठाएपछि देउवाले तत्कालै प्रतिवाद गरेका थिए। बिचैमा अन्य नेताहरूले बोलेपछि माहोल थप चर्किएको थियो । नेताहरूले आगामी निर्वाचनमा गठबन्धन बनाउन नहुने भन्दै देउवाको आलोचना समेत गरेका थिए ।
आचार्यले आगामी निर्वाचनसम्मका लागि विपक्षी गठबन्धन बनाउन नहुनेमा जोड दिएका थिए। निर्वाचनसम्म गठबन्धन चलाउने विषयमा आचार्यले शंका व्यक्त गरेपछि देउवाले जवाफ दिँदै भनेका थिए– यो संसदीय मोर्चालाई बलियो बनाउनलाई गरिएको गठबन्धन हो। निर्वाचनको कुरै नगरौं।
आचार्य र देउवाको भनाभनपछि बोलेका नेता कृष्ण सिटौलाले गठबन्धनको औचित्य प्रष्ट पार्ने प्रयास गरेका थिए। उनले नेपालको राजनीति राष्ट्रिय र अन्तर्राष्ट्रिय भूराजनीतिको शिकार बन्न खोजेको बताउँदै त्यसलाई निस्तेज पार्न विपक्षीहरुबीच गठबन्धन आवश्यक रहेको बताएका थिए।
त्यसपछि देउवा नेताहरूमाथि कड्किएका थिए । देउवा आक्रोशमा आएपछि नेताहरूले आफूहरू गठबन्धनको विरोधी नभएको तर महत्वपूर्ण निर्णय पनि थाहा हुन छाडेको गुनासो गरेका थिए । देउवा आक्रोशित बनेपछि आचार्यले आफू गठबन्धन विरोधी नभएको तर महत्वपूर्ण विषयमा धारणा सार्वजनिक गर्नुअघि पार्टीमा छलफल गर्नुपर्छ भन्नेमा आफ्नो जोड रहेको बताएका थिए।