कोरोनाका नाममा सरकारले आतंक सिर्जना गरेको कांग्रेसको निष्कर्ष - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

कोरोनाका नाममा सरकारले आतंक सिर्जना गरेको कांग्रेसको निष्कर्ष



काठमाडौं- प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारले कोरोना संक्रमणका नाममा आतंक सिर्जना गरिरहेको निष्कर्ष निकालेको छ । बुधबार बिहान बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बुधबार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले कोरोना नियन्त्रण गर्ने भन्दा पनि त्यसकै आडमा राजनीति गर्न खोजेको भन्दै भर्त्सना गरेको छ ।

‘सरकारले कोभिड संक्रमणलाई रोकथाम गर्ने भन्दा पनि त्यसको आडमा राजनीति गर्न खोज्दै छ,’ बैठकबारे सहमाहामन्त्री डा. प्रकाशशरण महतले संवाददाताहरुसँग भने, ‘जनतामा एउटा आतंक फैलाउन खोज्दै छ। दुई दिन भित्र किनमेल गर भन्ने लगायत कुराहरु गर्दैछ ।’

आफूहरुले कोरोना नियन्त्रण सम्बन्धी प्रधानमन्त्रीलाई १५ बुँदे ज्ञापन पत्र बुझाएपनि त्यसतर्फ कुनै काम नगरेको अरोप कांग्रेसको छ। उनले भने, ‘सरकारको आशय अहिले पनि अक्सिजनको सुनिश्चितता गर्ने, अस्पताल बेडको सुनिश्चितता गर्ने, दुर्गम गाउँमा पीसीआर परीक्षण गरेर उपचार गर्ने भन्दा पनि संक्रमणको आडमा जनतालाई आतंक फैलाउने र राजनीतिक स्वार्थसिद्धि गर्ने कोसिस जुन सरकारले गरिरहेको छ । त्यसको हामीले भर्त्सना गरेका छौं ।’

कांग्रेसले गाउँ-गाउँमा पुगेर पीसीआर परीक्षण गर्न पनि सरकारसँग माग गरेको छ। ‘फेरि पनि हाम्रो गम्भीर माग सरकारसँग के छ भने जनताको आवश्यकता, जनताको पीरमर्का बुझोस्,’ महतले भने, ‘लकडाउनबाट सानोतिनो व्यवसाय गरेर जीवन चलाउनेहरुको जीवन संकट परेको छ। उनीहरूलाई राहत सुनिश्चितता गर्नुपर्ने ठाउँमा आतंक सिर्जना गरेर जन अधिकारलाई निषेध गर्ने काम गरिरहेको छ ।’