माधव नेपाल तनावमा, केपी ओली पर्ख र हेरको रणनीतिमा
काठमाडौं- राष्ट्रिय सभा उपनिर्वाचनका कारण एमाले वरिष्ठ नेता माधव कुमार नेपाल संकटमा परेका छन् । पार्टीको आधिकारिक उम्मेदवारलाई समर्थन गर्ने वा विपक्षी गठबन्धनको सहयोगमा आफैंले अघि सारेका उम्मेदवारलाई जिताउन लाग्ने भन्ने भन्ने तनावमा उनी छन्।
राष्ट्रिय सभा सदस्य चयनका लागि बिहीबार आज उपनिर्वाचन हुँदै छ। यो उपनिर्वाचन एक सांसद चयन मात्र नभएर एमाले एकताको विषयसँग पनि गाँसिएको छ। पार्टीको साझा उम्मेदवार दर्ता गराउने प्रयास असफल भएपछि नेता नेपालले अघि सारेका उम्मेदवारलाई कांग्रेस र माओवादीले समर्थन गरेका छन् ।
एमालेको तर्फबाट सूर्य चिह्न लिएर गृहमन्त्री रामबहादुर थापा मैदानमा छन् भने विपक्षी गठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेको माधव नेपाल समूहका तर्फबाट डा. खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्ताको समयमा एमालेभित्र चरम विवाद थियो।
३० वैशाखमा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच सहमति भएपछि एमाले विवाद मत्थर त भएको छ। तर, एमालेका तर्फबाट उम्मेदवार बनेका थापालाई जिताउने विषयमा माधव नेपाल पक्षको अझै स्पष्ट धारणा आइसकेको छैन।
४ जेठमा नेपालको सचिवालयका तर्फबाट जारी गरिएको विज्ञप्तिमा नेपाल र थापाको भेटघाटमा थापालाई सहयोग गर्न नसक्ने र आफू पक्षीय मतदातालाई स्वविवेक प्रयोग गर्न दिइने विषयले ओली पक्षलाई शंकाको दृष्टिकोणले हेर्ने अवसर दिएको छ। ओली पक्षका नेताहरूको भनाइमा राष्ट्रिय सभाको उपनिर्वाचनमा नेपालको भूमिकाले एमाले एकता के हुन्छ भन्ने स्पष्ट पार्दछ।
ओली पक्षीय एक केन्द्रीय सदस्य राष्ट्रिय सभा उपनिर्वाचनपछि मात्र नेपालको मनस्थिति थाहा हुने बताउँछन्। माधव नेपाल मिल्छन् कि मिल्दैनन्, त्यो राष्ट्रिय सभा निर्वाचनबाटै थाहा हुने नेताहरू बताउँछन् ।
एमाले एक हुँदा बागमती प्रदेशमा थापाको जित सहज छ। किनभने, ११० सदस्यीय प्रदेश सभामा एमाले एक्लैका ५८ सांसद छन्। त्यसैगरी बागमतीका १३३ स्थानीय तहमध्ये अधिकांश प्रमुख र उपप्रमुख एमालेले जितेको छ। नेपाल पक्षले मत नदिएको अवस्थामा थापालाई जित्न गाह्रो हुने देखिन्छ।
मतदानको अघिल्लो दिन प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले विज्ञप्ति मार्फत थापाको पक्षमा मतदान गर्न र पार्टी निर्णय नमान्ने विषय क्षम्य नहुने स्पष्ट पारेका छन्।
पार्टी एकताका लागि कार्यदल गठन भएर काम शुरू भए पनि माधव नेपाल पक्षले पनि ओलीलाई त्यस्तै शंकाको दृष्टिकोणले हेरेको छ। नेपाल समूहमा ओलीले आफूहरूलाई उपयोगका लागि मात्र एकतामा अल्झाएका हुन् कि भन्ने आशंका छ भने माधव नेपालले पार्टीको निर्णयलाई के गर्छन् ? पर्ख र हेरको रणनीतिमा ओली पक्ष छ।
त्यसो त माधव नेपाल समूहभित्र पनि दुई खेमा छ। एउटा खेमा पार्टीको आधिकारिक उम्मेदवारलाई जिताउनुपर्छ भन्ने पक्षमा देखिन्छ भने अर्को खेमा चाहिँ यहीबेला आफ्नो बार्गेनिङ बढाएर ओलीलाई थप दबाबमा पार्ने रणनीतिमा देखिन्छ।
विभाजनको डिलमा पुगेको एमालेलाई जोगाउनका लागि दुवै समूहका दोस्रो पुस्ताका नेताहरूले खेलेको भूमिकाले एमाले विवाद मिलनको दिशातर्फ अग्रसर भएको हो।
पार्टी मिलनको दिशातर्फ जाँदापनि नेपाल भने तनावमा छन्। विपक्षी गठबन्धनसँग आग्रह गरेर उम्मेदवार उठाइहालेकाले अहिले समर्थन गर्दिनँ भन्दा पनि विश्वासको संकट छ । अर्कातिर पार्टीको आधिकारिक उम्मेदवार भएकाले समर्थन गर्दिन भन्न पनि नसकिने ।