भोक र अभावको अगाडी कोरोना बाधक - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

भोक र अभावको अगाडी कोरोना बाधक



काठमाडौं- कामको खोजीमा दुई महिनाअघि भारतको पुना पुगेका अछाम चौरपाटीका मानबहादुर साउद आइतबार कैलालीको त्रिनगर नाका हुँदै घर फर्किएका छन् ।

होटेलमा वेटर उनले आगामी दसैँमा घर फर्कने सोच बनाएका थिए । तर, महाराष्ट्रमा कोरोना संक्रमण बढेसँगै लकडाउनका कारण जागिर गुमेपछि उनी दुई महिनामै घर फर्कन बाध्य भएका छन् ।

एक साताअघि रोजगारी गुमेको मानबहादुरले बताए । ‘कोरोना बढेको भन्दै उता होटेल, बजार सबै बन्द छन् । लकडाउनमा अर्काको देशमा थुनिनुभन्दा आफ्नै देश फर्केँ,’ आइतबार बिहान नाकामा भेटिएका उनले भने, ‘केही महिना काम गर्ने सोच थियो । तर, कोरोनाका कारण होटेल बन्द भएपछि फर्कनुपर्यो।’

उनीसँगै महाराष्ट्रका विभिन्न ठाउँमा काम गरिरहेका चौरपाटीका अन्य चारजना पनि घर फर्किएका छन् । दुई महिनामै फर्कनुपर्दा कमाइ नभएकाले छोराछोरी र परिवारका लागि लुगाफाटोसमेत किन्न नसकेको दुःखेसो उनीहरूले सुनाए ।

रोजगारी गुमेपछि बर्दिया राजापुरका विष्णु कामी पनि पुनाबाट घर फर्किएका छन् । गत पुसमा भारत गएका उनी होटेलमा काम गर्थे । कोरोना बढे पनि काम चलेको भए उतै बस्ने सोच बनाएका थिए, तर होटेल बन्द भएपछि सात–आठ दिनदेखि बेरोजगार बनेका उनले लकडाउनमा थप समस्या हुने डरले घर फर्किएको बताए।

नाकामा एन्टिजेन परीक्षण गर्दागर्दै भेटिएका विष्णुलाई घर पुगेर बेरोजगार बस्दा आर्थिक समस्याले सताउने चिन्ता छ । देशभित्र सामान्य कामसमेत नपाएपछि अर्काको देश जानुपरेको गुनासो उनले सुनाए।

‘गरिबीका कारण परिवार पाल्न समस्या भएपछि अर्काको देशमा जानुपरेको हो । के गर्नु, स्वदेशमा काम पाइँदैन । परिवार पाल्नकै लागि पनि जानुपर्ने बाध्यता छ,’ उनले भने । महामारीको अवधि लम्बिएर लामो समय भारत फर्कन नपाए परिवारको गुजारा गर्न नै समस्या हुने उनले बताए।

भारतमा संक्रमण तीव्र गतिले बढ्न थालेपछि नेपालीहरू धमाधम घर फर्कन थालेका छन् । कतिपयको लकडाउनका कारण जागिर गुमेको छ भने कतिपय कोरोनाको त्रासले घर फर्किरहेका छन् । त्रिनगर नाकाबाट मात्रै दैनिक सात–आठ सयजना आउने गरेका छन् । उनीहरू अधिकांश सुदूरपश्चिमकै बासिन्दा हुन्।

चरम गरिबीका कारण सुदूरपश्चिमबाट रोजगारीका लागि भारतका विभिन्न सहर जानेको संख्या ठूलो छ । तर, यकिन तथ्यांक भने सरकारसँग पनि छैन । ‘धनसम्पत्ति जोड्न अर्काको देश गएका होइनौँ । यहाँ परिवार पाल्नसमेत काम पाइँदैन, त्यसैले बाध्य भएर भारत जानुपरेको हो,’ भारतबाट आइतबार फर्केका कैलाली पहलमानपुरका लोकबहादुर शाहीले भने ।

गत वर्ष लकडाउनको सुरुमा चैत–वैशाखतिर कोरोनाको त्रासले भारतबाट फर्कनेको नाकामा थामिनसक्नु भिड लागेको थियो । तर, घरमा लामो समय बेरोजगार बस्दा छाक टार्नसमेत समस्या भएपछि उनीहरू संक्रमण उत्कर्षमै रहेका वेला केही महिनामै भारत फर्किएका थिए । लकडाउनको सुरुमा घर आउनेजत्तिकै भिड यतिखेर नाकामा भारत फर्किनेको देखिएको छ ।

महामारीका वेला हजारौँ युवा स्वदेश फर्के पनि उनीहरूलाई रोजगारी दिने कार्यक्रम सरकारले ल्याउन नसकेको सरोकारवालाको भनाइ छ । गरिबीका कारण मजदुरी गर्न भारत जानुपर्ने विगतदेखिको बाध्यता अन्त्यका लागि तीनै तहका सरकारले काम गर्न नसकेको उपप्राध्यापक देवराज अवस्थीले बताएको नयाँ पत्रिकाले प्रकाशित गरेको छ ।