अटेरी शिक्षामन्त्री: निजि स्कुलको स्वार्थमा लाग्दा लाखौँ विद्यार्थीको ज्यान जोखिममा
काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ निजी स्कुलको प्रभावमा परेर अटेरी गर्दा लाखौँ विद्यार्थीको ज्यान जोखिममा पर्ने भएको छ । विद्यालय जाने उमेर समुहमा संक्रमण उच्च भएको भन्दै स्वास्थ्य मन्त्रालयले पटकपटक विद्यालय बन्द गर्न आग्रह गर्दा पनि श्रेष्ठले अटेरी गर्दै आइरहेका छन् ।
त्यतिमात्र होइन संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले कम्तीमा चार साता विद्यालय बन्द गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा सिफारिश गरेको थियो। तर, शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्न नमानेपछि सीसीएमसी पनि पछि हटेको थियो ।
यसै कारण स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री श्रेष्ठबीच सम्बन्ध बिग्रिएको छ । उनीहरू सम्बन्ध बिग्रनुको प्रत्यक्ष असर भने विद्यार्थीहरूमाथि पर्ने भएको छ ।
स्वास्थ्य मन्त्रालयले बिहीबार अत्यन्त जरुरी अपील भन्दै जारी गरेको सुचनाले उनीहरूबीचको टकराव ब्यापक भएको बताउँछ । बिहीबार स्वास्थ्यमन्त्री त्रिपाठीले मन्त्रीस्तरीय निर्णय गरेर काठमाडौंसहित १४ जिल्लाका विद्यार्थीलाई विद्यालय नजान अपील गरे।
काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङमा विद्यालयमा सहभागी नहुन अपील गरेका थिए । तर, शिक्षा सम्बन्धी कुनै पनि निर्णय गर्ने स्वास्थ्य मन्त्रालयको अधिकारभित्र पर्दैन ।
पछिल्लो समय शिक्षामन्त्रीले स्वास्थ्यमन्त्रीको कुरा सुन्ने छाडेका छन् । त्यतिमात्रै होइन स्वास्थ्यमन्त्रालयले गरेका सिफारिस समेतलाई उनले वाहियात भन्ने गरेका छन् बाध्य भएर यस्तो निर्णय लिनुपरेको हो
शिक्षामन्त्री, शिक्षासचिव लगायतका अधिकारीहरूलाई पटक–पटक आग्रह गर्दा पनि विद्यालय बन्द गर्न नमानेपछि स्वास्थ्य मन्त्रालयले अत्यन्त जरुरी अपील गरेका थिए । बिहीबार पनि शिक्षामन्त्री र स्वास्थ्य मन्त्रालयका अधिकारीहरूबीच छलफल भएको थियो।
निजी विद्यालय सञ्चालकहरूको दबाबमा परेर शिक्षामन्त्री श्रेष्ठले जोखिमका बीच विद्यालय खोल्ने निर्णय गरेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूको बुझाइ छ।
स्वास्थ्य मन्त्रालयका अनुसार १९ वर्षभन्दा कम उमेर समूहमा मंगलबार र बुधबार ११८ जनामा संक्रमण देखिएको थियो।
विद्यालय जाने उमेर समूहमा संक्रमण दर बढ्दै गएकाले यस्तो अपील गर्नुपरेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
निजि विद्यालयको दवावमा परेको शिक्षा मन्त्रालयले भने विद्यालयबाटै संक्रमण फैलिएको पुष्टि नभएकाले शिक्षण संस्था बन्द गर्न नहुने बताउँदै आएको छ।