फेरियो प्रधानमन्त्री ओलीको बोली र शैली
काठमाडौं- विराटनगरबाट कञ्चनपुरसम्म पुग्दा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वभाव र बोली आश्चर्यलाग्दो तरिकाले फेरिएको छ । कञ्चनपुरबाट उनले मुख्यत आफ्ना कार्यकर्ताहरूलाई दिएको सन्देश थियो संसद पुनर्स्थापना भएपनि हाम्रो राजनीति सकिँदैन । यसपछि पनि हुने अनेक खेल बाँकी छन् ।
कामै गर्न नदिएको भन्दै बाध्यतामा परेर संसद् विघटन गर्नुपरेको बताउने प्रधानमन्त्री ओलीले अहिलेसम्मका सबै कार्यक्रममा संसद पुनर्स्थापना हुने नसक्ने भन्दै आफूले चालेको कदम संवैधानिक भएको दाबी गर्दैथिए । सोमबार भने उनको बोली एकाएक फेरिएको छ ।
उनले गरेको भाषणकै कारण अहिले छुट्टै बहस हुन थालेको छ । अदालतले आफ्नो कदमलाई सदर गर्ने विकल्प नरहेको बताइरहेका ओलीले पहिलोपटक पुनर्स्थापनाको कुरा गर्दा कार्यकर्ता नै आश्चर्यमा परेका छन् । प्रधानमन्त्री ओलीले तीन महत्वपूर्ण सन्दर्भसहित पहिलोपटक संसद् पुनस्र्थापनाको सम्भावनातर्फ संकेत गरे ।
कञ्चनपुरमा औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले पुनस्र्थापना भए नयाँ प्रधानमन्त्रीको खोजी सुरु हुने, यसले आफ्नो राजनीतिमा कुनै फरक नपर्ने र कहिलेकाहीँ न्यायालयबाट अनुपयुक्त निर्णय हुने गरेको सन्दर्भ जोडेर संसद् पुनस्र्थापनाको सम्भावना औँल्याएका छन् ।
‘यदि पुनस्र्थापना हुने हो भने के हुन्छ ? यसो कल्पना गरौँ । पुनस्र्थापना हुने हो भने प्रधानमन्त्री खोज्न हिँड्नुपर्छ, प्रधानमन्त्री खोज्न पार्टी खोज्न हिँड्नुपर्छ । कुनै पार्टीको बहुमतको सरकार हुँदैन । त्यसो भएपछि समीकरणका अनेक खेल र सांसद किनबेचका खेल हुन्छन् । कसलाई कुन पद, कसलाई कुन पद, भागबन्डा यही तमासाको राजनीति फेरि सुरु हुन्छ,’ संसद् विघटनविरुद्धको रिटमाथिको सुनुवाइ सकिएको तीन दिनपछि प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले न्यायालयले समेत अनुपयुक्त निर्णय गर्ने गरेको सम्झिदै संसद् पुनस्र्थापनाको सम्भावनातिर संकेत गरे । ‘कुन समयमा न्यायालयले न्याय निरुपण कति गर्न सक्छ, त्यो बेग्लै कुरा हो । न्यायालयका सबै निर्णय सबै समयमा उपयुक्त नहुन पनि सक्छन् । त्यसै कारण मान्छेले पुनरावेदन गर्छन् । किन पुनरावेदन गर्छ ? पुनरावेदनबाट किन जित्छ फेरि ? कहिले–कहिले न्यायालयका फैसलाहरू उपयुक्त नहुन पनि सक्दारहेछन् । यो न्यायालयसँग सम्बन्धित कुरा हो,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसको न्यायिक प्रक्रिया आफ्नो छ, तर हामी न्यायालयमाथि विश्वास गर्दछौँ ।’ उनले आफूले लोकतन्त्रमा न्यायालयलाई दबाब दिने, धम्क्याउनेमा विश्वास नगर्ने गरेको पनि सुनाए । ‘लोकतन्त्र, शक्ति पृथकीकरणको सिद्धान्त, स्वतन्त्र न्यायालयको मर्यादा र त्यसमाथिको विश्वास आदिमा लोकतन्त्र बाँचेको हुन्छ,’ ओलीले भने ।
प्रधानमन्त्री ओलीले तेस्रो सन्दर्भका रूपमा अदालतबाट जस्तो फैसला आए पनि आफ्नो राजनीति नसिद्धिने बताए । ‘मैले विराटनगरमा बोल्दा भनेको थिएँ, केही मान्छेहरू यसो भयो भने त आफ्नो राजनीति नै सिद्धिन्छ भनेर छटपट–छटपट गरिराख्या छन् । हामी देश बनाउने अभियानमा छौँ, जस्तो भए पनि हाम्रो राजनीति सिद्धिदैन, केही भए पनि सिद्धिदैन । देश बनाउने हाम्रो अभियान र लोकतन्त्रलाई बलियो बनाउने आन्दोलन अगाडि बढिरहन्छ मैले भन्या हुँ,’ प्रधानमन्त्री ओलीले भने ।
शनिबार विराटनगर पुगेर ‘सेटिङ’मा संसद् पुनस्र्थापना भए आन्दोलन हुने चेतावनी दिएका ओलीले कञ्चनपुरमा पुगेर भने सफाइ दिए, ‘आन्दोलन भनेको उनीहरूले नाराजुलुस, ढुंगामुढा हान्ने के–के बुझेछन् । मैले त देश बनाउने आन्दोलन, लोकतन्त्रलाई सुदृढ बनाउने आन्दोलन भनेको थिएँ । लोकतान्त्रिक आन्दोलन भनेको समग्र राष्ट्रिय परिवर्तनको अग्रगामी आन्दोलन हो,’ ओलीले भने, ‘मैले हाम्रो आन्दोलन निरन्तर अगाडि बढिरहन्छ भनेँ । अरूले आन्दोलन गर्छु भनेर धम्की दियो भने । मैले कसैलाई धम्की दिइरहनुपर्ने कुनै आवश्यकता छैन । अदालतलाई हामीले धम्की दिने बानी पनि छैन । हामी स्वतन्त्र न्यायालय, शक्ति पृथकीकरणको सिद्धान्तलाई मान्छौँ ।’