काठमाडौंका यी १० स्थान बने संक्रमणको ‘डेन्जर जोन’
काठमाडौं- स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भन्छन्– कोरोना नियन्त्रणमा काठमाडौं महानगरको भूमिका देखिएन, जसले गर्दा महानगरभित्रका केही स्थानमा कोरोना नियन्त्रणबाहिर गयो
कोरोना भाइरस (कोभिड– १९)को संक्रमण तीव्र रूपमा बढिरहेका वेला काठमाडौं उपत्यकाका १० क्षेत्र ‘रेड जोन’मा परेका छन् । व्यापारिक क्षेत्रदेखि मानिसको चाप बढी हुने क्षेत्र ‘रेड जोन’मा परेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमातहतको रोग नियन्त्रण महाशाखा र उच्चस्तरीय महामारी व्यवस्थापन केन्द्र (सिसिएमसी)ले हरेक हप्ता काठमाडौंको ‘रेड जोन’ क्षेत्रको मूल्यांकन गर्दै आएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार तीन सयभन्दा माथि संक्रमित भएको क्षेत्र अर्थात् वडालाई ‘रेड जोन’मा राखिएको छ ।
स्वास्थ्य अधिकारीहरूका अनुसार काठमाडाैं महानगरपालिकाभित्र कोरोना नियन्त्रणभन्दा बाहिर गएको छ । महानगरका ३२ वडामध्ये वडा नं. १५ स्वयम्भू, वडा नं. १६ सोह्रखुट्टे, वडा नं. ३२ कोेटेश्वर, वडा नं. १४ कलंकी, वडा नं. ३ महाराजगन्ज, वडा नं. १३ कालिमाटी, वडा नं. ११ त्रिपुरेश्वर, वडा नं. ९ गौशाला, वडा नं. १० बानेश्वर र वडा नं. २६ लैनचौर ‘रेड जोन’मा छन् । यी वडामा तीन सयभन्दा माथि संक्रमित छन् ।
अन्य स्थानीय तहको तुलनामा काठमाडौं महानगरभित्र कोरोना तीव्र रूपमा बढेको मन्त्रालयले जनाएको छ । मंगलबार मात्रै काठमाडौं उपत्यकामा एक हजार सात सय ४६ जनामा संक्रमण देखिएको छ । २५ असोजसम्मको तथ्यांकअनुसार उपत्यकामा संक्रमितको संख्या ३२ हजार ६ सय तीन पुगेको छ । जसमध्ये महानगरभित्र १५ हजार पाँच सय ५३ जना छन् । उनीहरूमध्ये सक्रिय संक्रमित सात हजार ६ सय ९९ छन् भने अस्पतालमा सात सय ६२, संस्थागत आइसोलेसनमा ६ सय ८८ र होम आइसोलेसनमा ६ हजार दुई सय ४९ छन् ।
संक्रमितको सम्पर्कमा आएका १८ हजार ६ सय ८४ जनाको नमुना परीक्षण गर्दा दुई हजार आठ सय ६६ जना कोरोना पुष्टि भएको छ । कोरोनाको ‘रेड जोन’मा रहेका महानगरका १० वडामा मात्र आठ हजार तीन सय १० संक्रमित छन् । उनीहरूमध्ये सक्रिय संक्रमितको संख्या चार हजार एक सय ७३ रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै, कोरोनाबाट ३३ जनाको मृत्यु भएको छ । यो तीन दिनमा संक्रमितको संख्या अझै बढेको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंका अन्य स्थानीय तहले कोरोना संक्रमणलाई नियन्त्रणबाहिर जान नदिए पनि महानगरले नियन्त्रणमा लिन नसकेको बताए । ‘कोरोना नियन्त्रणमा काठमाडौं महानगरपालिकाको भूमिका देखिएन, जसले महानगरपालिकाभित्रका केही स्थानमा नियन्त्रणबाहिर गयो,’ प्रवक्ता डा. गौतमले भने ।
त्यस्तै, ‘रेड जोन’मा परेका वडालाई ‘सिल’ गरेर परीक्षण तीव्र बनाउनुपर्ने मन्त्रालयका अधिकारीहरू बताउँछन् । तर, सरकारले ‘सिल’ नगर्दा अन्य क्षेत्रमा पनि जोखिम बढाएको उनीहरूको भनाइ छ । यसैगरी कन्ट्याक्ट ट्रेसिङको काम पनि रोग नियन्त्रण महाशाखा र स्थानीय तहले नगर्दा कोरोना नियन्त्रणमा आउन सकेको जनाएको छ ।
एकैदिन ३५ सय ५६ कोरोना
पछिल्लो २४ घन्टामा देशभर तीन हजार पाँच सय ५६ जनामा कोरोना संक्रमित पुष्टि भएको छ भने कोरोनाबाट १८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमितको संख्या एक लाख १५ हजार तीन सय ५८ पुगेको छ ।
सरकारले परीक्षण काठमाडौंकेन्द्रित बनाएको छ । पछिल्लो २४ घन्टामा १५ हजार पाँच सय ७७ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । जसमध्ये बागमती प्रदेशमा १० हजार दुई सय ८७ वटा नमुना परीक्षण गरिएकोमा दुई हजार पाँच सय ३० जनामा संक्रमण पुष्टि भएको छ । यसमा धेरैजसो काठमाडौं उपत्यकाको रहेको नयाँ पत्रिकाले लेखेको छ ।