हराएको होइन रहेछ ११ नम्बर पिल्लर: यस्तो छ कथा - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

हराएको होइन रहेछ ११ नम्बर पिल्लर: यस्तो छ कथा



काठमाडौं- नेपाल र चीनको संयुक्त प्राविधिक टोलीले २०६२/६३ (सन् २००७) मा ११ नम्बरसहित सीमा स्तम्भ निरीक्षण गरेको पाइएको छ।

नापी विभागका तत्कालीन प्रमुख नापी अधिकृत बलराम पोखरेलसहितको टोलीले चुचुरोमा पुगेर ११ नम्बर सीमा स्तम्भको मर्मत गरेको थियो। त्यसबेला नेपाल–चीन सीमा निरीक्षण गर्न पाँचवटा टोली खटिएका थिए।

टोलीले दार्चुला, बझाङ, हुम्ला पुगेर सीमास्तम्भ पुनर्निर्माण र मर्मतसम्भार गरेको थियो। टिंकरमा रहेको १ नम्बर सीमा स्तम्भसम्म पुगेर अनुगमन गरिएको पोखरेलले बताए। ५८ वर्षदेखि ती सीमास्तम्भ निरीक्षण नभएको भन्ने कुरा गलत भएको उनको दाबी रहेको खबर आजको अन्नपूर्ण पोस्टमा सुरेन्द्र काफ्लेले लेखेका छन।

‘त्यहाँ चुचुरो छ। हामी आधा घोडा, आधा पैदल गएका थियौं’, उनले भने, ‘हामीले त्यो स्तम्भ मर्मत गरेका हौं।’ उनले सीमास्तम्भ गाडेदेखि(५८ वर्ष) त्यहाँको अवस्था जानकारी नभएको भन्ने गलत रहेको बताए। ‘हाम्रो सरकारी संयन्त्रमा इन्स्टिच्युसनल मेमोरी छैन। मान्छे रिटायर्ड भएसँगै सबै गायब हुन्छ। अभिलेखीकरण नै छैन’,उनले भने, ‘कस्तो भद्रगोल ? म स्वयं सन् २००७मा त्यहाँ गएको हुँ?’

हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले ५८ वर्षदेखि ११ नम्बर सीमा स्तम्भ हराएको र लिमीलाप्चा क्षेत्रको नेपाली भूभागमा चीनले ११ भवन बनाएको प्रतिवेदन गृह मन्त्रालयमा पठाएका थिए। त्यसपछि प्रमुखजिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोली निरीक्षणमा गएको थियो। हराएको भनिएको स्तम्भ जहाँको त्यहीं पाइएको छ। गृह मन्त्रालयले हमाललाई स्पष्टीकरण सोधेको छ।

निरीक्षण टोलीका सदस्य नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले अनुमान गरिएकै स्थानमा स्तम्भ भेटिएको बताए। ‘खोज्दै खोजिएको थिएन। त्यसै नभेटिएको भन्ने कुरा आएको होला’, उनले भने, ‘अहिले खोजियो भेटियो।’ लामाले उक्त क्षेत्रमा चीनले बनाएका भवनको बारेमा अनुसन्धान नगरी यसै भन्न नसिकने बताए। ‘यो प्राविधिक विषय हो, हामीले भन्ने होइन’, उनले भने।