'न जिउँदाको जन्ती, न मर्दाको मलामी': आफन्तलाई अँगालो हालेर रुन पनि नपाइने - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

‘न जिउँदाको जन्ती, न मर्दाको मलामी’: आफन्तलाई अँगालो हालेर रुन पनि नपाइने



काठमाडौं- ‘जिउँदाको जन्ती, मर्दाको मलामी’ हाम्रो समाजमा चल्तीको उखान हो। जिउँदो छँदा जन्ती र मर्दा मलामी कमाउनुलाई समाजले निकै उपलब्धि ठान्छ।

तर कोरोना कहरमा यो उखानले उति मेल खाँदैन। मर्दा पनि एक्लै (मलामीबिना) हुन र परिवारका सदस्य पनि एक्लै थुनिएर बस्नुपर्ने अवस्था कोरोनाले ल्याइदिएको छ। मृतकका मलामी केही सुरक्षाकर्मी र शववाहनका चालकमात्र हुने गरेका खबर आजको नागरिक दैनिकमा पोखराबाट सन्तोष पोखरेलले लेखेका छन्।

त्यसबाहेक आफन्त गुमाउँदा शोकमा परेका परिवारका सदस्यलाई सान्त्वना दिन पनि घरमा कोही पुग्दैनन्। एकातिर संक्रमणको डरले आफन्तको भेटघाट रोकिएको छ भने अर्कोतिर सामाजिक दृष्टि पनि उत्तिकै डरलाग्दो बन्दै गएको छ।

आफन्त गुमाउँदाको पीडामा परेका परिवारका सदस्यको घाउमा मलम लगाउन यो कहरमा कोही पुग्दैन। यसले पीडितलाई झनै पीडा हुने गरेको छ।

यही भदौ २ गते तनहुँको व्यास नगरपालिका–१ घर भएकी ५० वर्षीया महिलाको पोखरामा कोरोना संक्रमणबाट मृत्यु भयो। सरकारी निकायले उनको शव पोखरामै व्यवस्थापन गरिदियो। तर ती महिलाकी छोरीलाई परेको यो पीडामा साथ दिने कोही भएन। १२ कक्षा पढ्दै गरेकी ती छोरी आमासँगै दमौलीको अम्रेनीमा बस्दै आएकी थिइन्।

घरदेखि पोखरासम्म आमाको रेखदेखमा खटिएकी छोरीमा पनि परीक्षण गर्दा कोरोना पुष्टि भयो। त्यसपछि छोरीलाई उपचारका लागि तनहुँको खैरेनीटारस्थित जिपी कोइराला श्वासप्रश्वास केन्द्रमा लगियो। उनी निको भएर आइतबार घर फर्किइन्।

‘आमा भेन्टिलेटरमा हुँदा एकपटक दमौलीको गल्बुबेंसीबाट सानिमा भेटन् पुग्नुभो, त्यसपछि मेरो कसैसँग भेट हुन पाएन,’ उनले भनिन्, ‘आमा भेट्न पुगेकी सानिमा पनि क्वारेन्टिनमा बस्नुपर्यो। आमाको मृत्युपछि म आफैं पनि संक्रमित भएकीले मलाई भेट्न आफन्त आउन सक्नुभएन। म हिजो मात्र अस्पतालबाट घर फर्किएँ।’

पीडामा आफन्तलाई अँगालो हालेर रुन पनि नपाउने गरी कोरोनाले पराई बनाइदिएको उनले बताइन्। उनले भनिन्, ‘संक्रमणको त्रासले नै यो अवस्था आएको हो। अरु बेला यो दुःख आइपरेको भए पक्कै पनि आफन्तको साथ पाउँथें।’

‘पीडामा आफन्तलाई अँगालो हालेर रुन पनि नपाउने गरी कोरोनाले पराई बनाइदियो। सान्त्वना पाउनुपर्ने बेलामा पनि एक्लिनुपर्ने अवस्था निम्तियो। चोट लागेका बेला मलम लगाउने हो तर अहिले मलम लगाइदिने कोही छैन।’

कोरोना संक्रमणबाट भदौ २ गते नै पोखराका ८७ वर्षीय पुरुषको ज्यान गयो। उनको मृत्युपछि पनि परिवारका सदस्यले आफन्तको सहारा पाउन÷लिन सकेनन्। मृतकका ज्वाइँ भेषबहादुर गुरुङ कोरोनाले ‘जो म¥यो त्यो हा¥यो’ को अवस्थामा ल्याइदिएको बताउँछन्।