नेपाल समूह सशंकित: ओली-प्रचण्ड आन्तरिक सहमति भएको शंका - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

नेपाल समूह सशंकित: ओली-प्रचण्ड आन्तरिक सहमति भएको शंका



काठमाडौं- पार्टीभित्र चुलिएको विवाद समाधानको गृहकार्य गर्न गठित नेकपाको कार्यदलले अध्यक्षहरूको जिम्मेवारी बाँडफाँड, पार्टी र सरकार सञ्चालनसँग जोडिएको विधि–पद्धतिदेखि महाधिवेशन तयारीसम्मका प्याकेज प्रस्ताव बनाउने भएको छ । कार्यदलले बनाउने प्रस्तावबारे दुई अध्यक्षबीच मौखिम सहमति बनिसकेको स्रोतको भनाइ छ ।

प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहमतिअनुसार महासचिव विष्णु पौडेलको संयोजकत्वमा शुक्रबार गठित कार्यदलले विवाद समाधानको समग्र प्याकेज प्रस्ताव तयार गर्ने जिम्मेवारी पाएको हो । कार्यदलले बनाएको प्रस्तावमा सचिवालयमा सहमति जुटाएर स्थायी कमिटीबाट निर्णय गराउने अध्यक्षद्वय ओली र प्रचण्डबीच सहमति छ ।

पार्टीभित्रको त्रिपक्षीय शक्ति सन्तुलनलाई सम्बोधन गर्ने गरी कार्यदलमा प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट दुई–दुईजना नेता तोकिएका छन् । जसअनुसार ओलीनिकट पौडेल र शंकर पोखरेल, प्रचण्डनिकट जनार्दन शर्मा र पम्फा भुसाल र नेपालनिकट सुरेन्द्र पाण्डे र भीमबहादुर रावल छन् । भुसाल भने पूर्वमाओवादी समूहभित्र गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग पनि निकट छिन् । कार्यदललाई ‘म्यान्डेट’ र समयसीमा भने तोकिएको छैन ।

कार्यदलले बढीमा चार दिनभित्र प्रस्ताव तयार पारेपछि एक हप्ताभित्रै केन्द्रीय सचिवालय र स्थायी कमिटी बैठकमा छलफलमा लैजाने ओली र प्रचण्डको समझदारी छ । ‘कार्यदललाई कुनै ठोस म्यान्डेट तोकिएकोचाहिँ छैन । पार्टीका आन्तरिक जीवनमा पैदा भएका समस्या तत्काल र दीर्घकालसम्म कसरी समाधान गर्ने, महाधिवेशनसम्म कसरी जाने, सरकार र पार्टीको कामलाई कसरी व्यवस्थित गर्ने, एकताको काम कसरी सक्ने भन्नेबारेमा छलफल गरेर प्रस्ताव तयार पार्ने काम कार्यदलले गर्नेछ,’ कार्यदल सदस्य जनार्दन शर्माले भने । कार्यदलले तयार पार्ने प्रस्तावका आधारमा स्थायी कमिटीको बैठकमा छलफल हुने उनले प्रस्ट्याए ।

नेताहरूका अनुसार ठोस म्यान्डेट नभए पनि कार्यदलले पार्टीभित्र उठिरहेका सबै विषय र समस्यामा केन्द्रित रहेर छलफल गरेपछि छिटोभन्दा छिटो प्रस्तावको गृहकार्य गर्नेछ । ‘अहिले देखिएका समस्या समाधान गर्दै पार्टी एकतालाई बलियो बनाउने गरी कार्यदलले छिटोभन्दा छिटो प्रस्तावको गृहकार्य गर्नेछ,’ महासचिव पौडेलले भने, ‘यसभित्र सबै कामहरू कार्यदलले गर्नेछ ।’

प्रचण्ड–नेपाल समूहले उठाइरहेको एक व्यक्ति : एक जिम्मेवारीको नीतिअनुसार प्रधानमन्त्री सरकार र अध्यक्ष प्रचण्ड पार्टी काममा केन्द्रित हुने गरी जिम्मेवारी बाँडफाँड गर्ने, सरकारको कामलाई समन्वय गर्ने गरी उच्चस्तरीय या त्यस्तै प्रकृतिको कुनै संयन्त्र गठन, महत्वपूर्ण नीतिगत र कानुनी विषय तथा राजनीतिक नियुक्तिहरू पार्टी सचिवालयको निर्णयअनुसार गर्नेजस्ता विषयमा कार्यदलले प्रस्ताव तयार पार्नेछ ।

त्यस्तै, संघीय सरकार र प्रदेश सरकारको कामलाई प्रभावकारी बनाउन आवश्यकताअनुसार जिम्मेवारी हेरफेर वा मन्त्रिपरिषद् पुनर्गठन, आगामी चैतका लागि तोकिएको महाधिवेशन तयारीका सन्दर्भमा कार्यतालिका र कार्ययोजनासम्बन्धी प्रस्ताव, पार्टी सञ्चालनसम्बन्धी विधि र पद्धतिसँग जोडिएका विषयलाई स्पष्ट पार्नेछ । त्यस्तै, एकतासँग जोडिएका बाँकी कामसम्बन्धी प्रस्तावबारे समेत गृहकार्य गर्नेछ । नेकपाको केन्द्रीय विभाग, केन्द्रीय निकाय, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चले पूर्णता पाइसकेको छैन । त्यस्तै, भ्रातृ संगठनहरूका तल्ला तहका कमिटीहरूले पनि पूर्णता पाइसकेका छैनन् ।

त्यस्तै, पार्टी र सरकार सञ्चालनका सम्बन्धमा अध्यक्षद्वयका तर्फबाट अहिलेसम्म भएका सबैखाले कमी–कमजोरीहरूको आत्मालोचना गर्दै दोहोरिन नदिने र विधि, प्रक्रिया तथा पार्टी निर्णयका आधारमा सञ्चालन गर्ने प्रतिबद्धतालगायतका विषयमा पनि कार्यदलभित्र छलफल हुनेछ ।

महासचिव पौडेल र स्थायी कमिटी सदस्यद्वय पोखरेल र शर्माले केही दिनयता गरेको गृहकार्य र उनीहरूले तयार पारेको सहमतिको मस्यौदामा बिहीबार ओली र प्रचण्डबीच दुई घन्टाभन्दा बढी एक्लाएक्लै संवाद भएको थियो । दोस्रो तहका ती तीन नेताले ओली–प्रचण्डबीचको संवादहीनताकै बीचमा पनि बालुवाटार र खुमलटार निरन्तर सन्देश आदान–प्रदानका लागि दौडधुप गरेका थिए । कार्यदलमा अहिलेसम्म तयार भएको खेस्रा प्रस्तावलाई नै प्रारम्भिक मस्यौदाका रूपमा छलफलमा लैजाने तयारी भएको शुरोजङ्ग पाण्डेले नयाँ पत्रिकामा लेखेका छन्’ ।

नेकपाभित्र गत वैशाख तेस्रो साताबाट विवाद उत्कर्षउन्मुख भएको थियो । ओलीले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशको जवाफमा प्रचण्ड–नेपाल समूहले दुवै पदबाट राजीनामा मागेपछि गत १० असारबाट सुरु भएको स्थायी कमिटी बैठकमा अन्तरविरोध चर्किएपछि नेकपा विभाजनकै तहसम्म पुगिसकेको अनुमान गरिँदै आएको थियो । त्यसपछि पार्टीभित्रैबाट स्थायी कमिटीमा रहेका दोस्रो तह र केन्द्रीय सदस्य र सांसदहरूको तेस्रो तहका नेताहरूको छुट्टाछुट्टै टोलीले एकताको पक्षमा दबाब अभियान चलाउँदै आएको थियो ।

१३ साउनमा बालुवाटारमै प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बहुमत स्थायी कमिटी सदस्यको उपस्थितिमा बैठक राखेको दाबी गर्दै आए पनि ओली र उनीनिकट नेताले मान्यता दिएका थिएनन् । ओली ३ साउनको सचिवालय बैठकको निर्णयअनुसार सचिवालयबाट सहमतिको प्रस्ताव तयार भएपछि मात्र स्थायी कमिटी बोलाउने अडानमा टसमस थिएनन् । प्रचण्ड पछिल्लोपटक स्थायी कमिटी बसेका कारण त्यसैलाई सुचारु गरेर सहमति खोज्नुपर्ने अडानमा थिए ।

बुधबार एपी वान टेलिभिजनसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले पार्टीभित्रको समस्या पाँच दिनभित्रै अर्कै ‘सिनारियो’ देखिने गरी समाधान गर्ने ठोकुवा गरेका थिए । उनले बिहीबारबाटै ‘काउन्टडाउन’ सुरु भएको बताएकै दिन उनीहरूबीच छलफल भएको हो । ‘हप्ता–दश दिन होइन, हप्ताभन्दा यतै पाँच दिनमा फेरि मसँग प्रश्न गर्नुस्, के हुन्छ सिनारियो । भोलिबाट एक भनेर काउन्टडाउन सुरु गर्नुहोला,’ ओलीको भनाइ थियो ।

नेपालसहितका नेता सशंकित

अहिले देखिएको समस्या समाधानका लागि कार्यदल बनाइए पनि वरिष्ठ नेता नेपाल समूह भने अझै आश्वस्त हुन सकेको छैन । दुई अध्यक्षबीच करिब–करिब सहमति भएको, तर प्रचण्डले सबै कुरा नखुलाएको भन्दै वरिष्ठ नेता झलनाथ खनाल, नेपाल र सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले स्पष्ट गर्न माग गरेका छन् ।

समस्या समाधानका लागि कार्यदल बनाउने र त्यसैले सबै गृहकार्य गर्ने भन्ने कुरा भए पनि दुई अध्यक्षबीचको पछिल्लो छलफल र समझदारीबारे भने आफूलाई जानकारी नभएको बताए । ‘कार्यदल बनाउने र त्यसैले अहिले उठेका सबै विषयमा गृहकार्य भन्ने हो, तर उहाँहरूबीच डिटेल (विस्तृत)मा के (छलफल÷समझदारी) भयो थाहा छैन,’ नेपालले भने, ‘सामान्यतया कार्यदलमार्फत सहमति खोज्ने भनेको हो भने बेग्लै कुरा हो, तर सबै कुरा नबुझेसम्म भन्ने कुरा भएन ।’

गत २० साउनयता नौ दिनको संवादहीनतापछि भएको पहिलो दिनको भेटवार्तामै ओली–प्रचण्डबीच समाधानउन्मुख सहमति भएको बाहिरिएपछि नेपाल समूहले ‘गोप्य सहमति’को आशंका गरेको छ । बिहीबार बानेश्वरको थापागाउँस्थित एक कलेजमा भएको प्रदेश ५ का केन्द्रीय सदस्यहरूको भेलामा पनि नेपालपक्षीय नेताहरूले दुई अध्यक्षबीचको समझदारीबारे प्रचण्डसँग आशंकायुक्त प्रश्न गरेका थिए । जवाफमा प्रचण्डले स्थायी कमिटी बैठकबाटै समस्या समाधान गर्ने समझदारी भएको जानकारी गराएका थिए ।

त्यस्तै, उनले वरिष्ठ नेता नेपाल, खनाल र प्रवक्ता श्रेष्ठलाई स्थायी कमिटी बैठक बोलाउने र त्यसअघि कार्यदल बनाउने समझदारी भएको जानकारी गराएका थिए । पछिल्लोपटक पार्टीभित्रको समस्याबारे प्रचण्डसँगको समीकरणमा रहेका नेपालनिकट नेताहरू कार्यदलमै एक व्यक्ति: एक जिम्मेवारी तथा विधि, प्रक्रिया र पद्धतिसँग जोडिएका विषय उठाउने तयारीमा छन् ।

कार्यदल सदस्यसमेत रहेका नेता भीम रावलले अहिल्यै समस्या समाधान हुने गरी आकार ग्रहण नगरेको र कार्यदलमा कुन ढंगले, कुन तहसम्म छलफल हुन्छ अहिल्यै भन्न सकिने अवस्था नरहेको बताए । ‘अहिलेको मितिसम्म समस्या समाधानको कुनै पनि आकार ग्रहण गरिसकेको अवस्था होइन । कार्यदलमा विषयवस्तु कुन ढंगले उठ्छ, कुन तहमा छलफल पुग्छ, अहिल्यै भन्ने स्थिति छैन, अहिलेलाई संवादहीनताको अवस्था अन्त्य भएको मात्रै बुझौँ,’ रावलले भने ।

कार्यदलमै रहेका नेपालनिकट अर्का सदस्य सुरेन्द्र पाण्डेले पनि कार्यदलले गर्ने कामका विषयमा अहिल्यै भन्न नसकिने बताए । ‘महासचिवले फोनमार्फत कार्यदलमा राखिएको र शनिबार बैठक बस्ने जानकारी गराउनुभएको छ,’ गृहजिल्ला चितवनमा रहेका पाण्डेले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘अरू कुरा थाहा छैन, शनिबारबाट काम सुरु हुन्छ होला ।’

दुई–तीन दिनभित्रै प्रस्ताव तयार हुन सक्छ : जनार्दन शर्मा, स्थायी कमिटी सदस्य

पार्टीमा देखिएको समस्या समाधानको प्रस्ताव तयार गर्न तपाईंसहित ६ सदस्यीय कार्यदल बनेको छ । कार्यदलले कहिलेबाट काम सुरु गर्छ ?

शनिबारबाटै काम सुरु गर्छौँ । अपराह्न साढे १२ बजे कार्यदलको पहिलो बैठक डाकिएको छ ।

के–के विषयमा गृहकार्यको म्यान्डेट छ ?

म्यान्डेट तोकिएकै चाहिँ छैन । पार्टीका आन्तरिक जीवनमा पैदा भएका समस्या तत्काल र दीर्घकालसम्म कसरी समाधान गर्ने, महाधिवेशनसम्म कसरी जाने, सरकार र पार्टीको कामलाई कसरी व्यवस्थित गर्ने, एकताको काम कसरी सक्ने भन्नेलगायतमा छलफल गरेर प्रस्ताव तयार पार्ने काम कार्यदलले गर्नेछ । त्यसपछि अब बस्ने स्थायी कमिटीको बैठकमा प्रस्तावमाथि छलफल गर्ने भन्ने छ ।

दुई अध्यक्षबीच लामो समयदेखि छलफल हुँदै आएको थियो । तपाईं पनि उहाँहरूलाई मिलाउन सक्रिय हुनुहुन्थ्यो । उहाँहरू अहिले आएर कार्यदल बनाएर समस्या समाधान गर्ने निष्कर्षमा कसरी पुग्नुभो ?

त्यसबारेमा हामीले निरन्तर उहाँहरूसँग बेग्लाबेग्लै छलफल गर्‍यौँ । सामूहिक रूपमा पनि बसेर छलफल भयो । पार्टी एकताको विकल्प छैन । आमजनता, आमकार्यकर्ताको सन्देश यस्तो छ है भनेर हामीले उहाँहरूलाई भन्यौँ । हुन त यी सबै विषयमा उहाँहरूलाई पनि राम्रोसँग थाहा छ, थियो । अरू नेताहरूको कुरा के हो, हाम्रो कुरा के हो, त्यो पनि भन्यौँ । उहाँहरू (दुवै अध्यक्ष) पनि आ–आफ्नो ढंगले केही समय त चल्नुभो । यसबीचमा उहाँहरूले पनि महसुस गर्नुभयो होला । वास्तवमा कार्यदल गठन आमकार्यकर्ता, जनताको भावना र उहाँहरूको पनि एकताको भावनाको मेल हो भन्ने मलाई लाग्छ ।

नेकपाभित्र दुई अध्यक्षबीच मेलमिलाप हुनेबित्तिकै अर्को एउटा पक्षले आशंका गर्ने अवस्था छ । त्यसलाई समेत ध्यान कसरी दिनुहुन्छ ?

पक्ष–विपक्ष होइन, दुई अध्यक्ष विधानको व्यवस्था भएकाले उहाँहरू संस्था हो । त्यसभन्दा तल सचिवालय छ, त्यहाँ पनि छलफल हुन्छ । स्थायी कमिटीमा छलफल हुन्छ । त्यसकारण आमछलफल गरेर समग्र पार्टीलाई एकीकृत गर्ने गरी नै जाने हो ।

पछिल्लो समय समस्याको समग्र समाधान महाधिवेशनबाटै गर्ने भन्ने छलफल भएको बाहिर आएको थियो । कार्यदलले यसमा के गर्छ ?

महाधिवेशन त केन्द्रीय कमिटीले निर्णय गरिसकेको छ । त्यो निर्णयअनुसार महाधिवेशनका लागि आवश्यक तयारी गर्नुपर्ने होला । आवश्यक तयारीको प्रस्तावबारे पनि छलफल गर्छौँ । मेरो व्यक्तिगत विचार भन्ने हो भने पार्टीभित्र विधि–पद्धतिलाई कसरी कार्यान्वयन गर्ने भन्ने पनि छलफल गरौँला । सरकारलाई व्यवस्थित गर्ने, यसबीचमा भएका घटनाक्रमले जनतामा के प्रभाव पार्‍यो भन्ने कुरामा पनि छलफल गरौँला । यिनै कुरा गरेर तत्कालीन र दीर्घकालीन समाधान खोज्ने हो ।

कार्यदलले कति दिनभित्र प्रस्ताव तयार पार्छ होला ?

दुई–तीनभित्रै प्रस्ताव तयार पार्न सकिन्छ भन्ने विश्वास छ । तर, शनिबार पहिलो बैठक बसेपछि कति दिनमा कसरी गर्ने तय गर्छौँ ।