रुस विरुद्ध खनिए वैज्ञानिकहरू: भ्याक्सिनको विश्वास गर्न नसकिने - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

रुस विरुद्ध खनिए वैज्ञानिकहरू: भ्याक्सिनको विश्वास गर्न नसकिने



एजेन्सी । कोरोना भाइरसको सफल खोप बनाएको भन्दै रुसले गरेको दाबीलाई वैज्ञानिक समाजले कडा आलोचना गरेको छ । विज्ञहरूले रुसको यो कदमलाई ‘लापरवाह र मूर्ख’ भनेका छन् ।

यद्यपि, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने यो खोपमाथि विस्तृत अनुसन्धान भएको र उनकी एउटी छोरीलाई पनि खोप दिइएको बताएका छन् । रूसले अक्टुबरदेखि ठूलो मात्रामा उक्त खोप व्यक्तिहरुलाई लगाउन गइरहेको छ ।

तर, वैज्ञानिकहरूले रुसको उक्त कदमलाई अनैतिक कदम हुने चेतावनी दिएका छन् । ठीकसँग परीक्षण नगरिएका खोपहरूले जनसंख्यामा धेरै नराम्रो प्रभाव पार्न सक्ने उनीहरुको मत छ ।

रुसले बनाएको उक्त खोपलाई विश्व स्वास्थ्य संगठनले पनि अनुमोदन गरेको छैन । तर, विभिन्न २० देशले रुसमा तयार भएको उक्त कोरोना विरुद्धको खोपको लाखौं डोज अर्डर गरेको रुसले दाबी गरेको छ ।

अमेरिकाका प्रमुख संक्रामक रोग विशेषज्ञ एन्थनी फाउचीले रूसले बनाएको खोपले कोरोना भाइरस नियन्त्रणमा काम गर्नेमा शंका व्यक्त गरे । उनले रुसको खोपमा विश्वास गर्न सकिने कुनैपनि आधारहरु नभेटिएको टिप्पणी गरेका छन् ।

रुसका अधिकारीले आफ्नो खोप सुरक्षित र प्रभावकारी छ भन्ने प्रमाणित गर्नुपर्ने उनको मत छ । सामूहिक छलफलको क्रममा फाउचीले भने, ‘खोप बनाउने र खोप सुरक्षित र प्रभावकारी छन भनेर प्रमाणित गर्ने काम फरक फरक चीजहरू हुन् ।’

युनिभर्सिटी कलेज, लन्डनका जीवविज्ञान प्रोफेसर फ्रान्कोइस बलुक्सले रूसको यो कदम लापरवाह र मूर्खतापूर्ण भएको बताउँदै उक्त खोपले जनसंख्यामा नराम्रो असर पार्ने र जनतामा भ्याक्सिनको स्वीकृति घट्ने खतरा औल्याएका छन् ।

रिपोर्टकाअनुसार साउथह्याम्प्टन युनिभर्सिटीका ग्लोबल हेल्थ रिसर्चर मिशेल हेडले रुसमा उत्पादन भएको खोपको पुरा जानकारी सार्वजनिक नभएको भन्दै खोप अभियान सुरु गर्नुअघि जनताको विश्वास जित्नका लागि सबै जानकारी दिनु आवश्यक भएको धारणा राखेका छन् ।

अर्का प्राध्यापक तथा महामारी विशेषज्ञ किथ नेलले सीमित परीक्षणमा खोप सुरक्षित देखिएपनि संक्रमण रोक्नका लागि ठूलो मात्रामा परीक्षणको आवश्यकता रहेको बताएका छन् । रुसले वैज्ञानिक आधार तथा कागजातहरु सार्वजनिक नगरेसम्म विश्वास गर्न नसकिने उनले बताएका छन् ।

बेलायतको वारविक बिजनेस स्कूलका एक औषधि अनुसन्धान विज्ञ आइफर अलीले छिटो स्वीकृतिका लागि खोपको साइड इफेक्टलाई नजरअन्दाज गरिएको हुनसक्ने बताएका छन् । यदि खोपको असर नभएको खण्डमा भाइरस अझ शक्तिशाली हुने भएकाले थप परीक्षणको जरुरी रहेको उनको मत छ ।