उपत्यकाको अवस्था तनावग्रस्त - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

उपत्यकाको अवस्था तनावग्रस्त



काठमाडौं- पछिल्ला केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दैनिक बढिरहेको छ । सरकारले विनातयारी ‘लकडाउन’ खुलाएको घोषणा गरेपछि काठमाडौं भित्रिनेको संख्या बढ्न थाल्यो र सँगै सक्रमितको संख्या पनि थपिँदै गएको छ ।

संक्रमणले भयावह रुप लिन थालिरहेको बेला केही समय उपत्यका ‘सिल’ गर्न केही विज्ञहरुले सुझाव दिएपनि केन्द्र र स्थानीय सरकार भने संक्रमण भएको ठाउँमा मात्र सिल गर्ने नीति लिएर अघि बढेको छ ।

पछिल्लो १७ दिनको आँकडा हेर्दा काठमाडौं उपत्यकाका करिब ७०० जनामा कोरोना संक्रमण देखिएको छ भने हालसम्म करिब एक हजारको हाराहारीमा संक्रमित पुष्टि भइसकेका छन् ।

यो संख्याले उपत्यका संक्रमणको उच्च जोखिम अर्थात् ‘रेड जोन’मा भएको विज्ञहरुको मतलाई बल पुर्‍याउने देखिन्छ । लकडाउन खुलेपछि सञ्चालनमा आएका सार्वजनिक यातायातका साधनले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डसमेत पालना नगरेको देखिन्छ । यसलेपनि जोखिम बढाएको छ ।

त्यसो त सरकारले साउन ६ गते १२० दिन लामो लकडाउन अन्त्य गर्दा संक्रमितको संख्या १७ हजार ९९४ थियो । त्यसपछि दुई साताको अवधिमा शनिबार आएर यो संख्या २२ हजार ५९२ पुगेको छ भने ७३ जनाको मृत्यु भएको छ ।

यसपटक सरकार कोरोना संक्रमण रोकथामको विकल्प लकडाउनमात्र नभएको भन्दै अन्य विकल्पतर्फ अग्रसर देखिन्छ । साउन २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा विज्ञहरुसँग छलफल गर्दा केही विज्ञहरुले उपत्यका १५ दिनसम्म पूर्णरुपमा लकडाउन गर्न सुझाव दिएका थिए ।

संक्रमितको संख्या बढिरहेपनि सरकार भने तत्काल देशव्यापी लकडाउन नगर्ने पक्षमा देखिएको छ । संक्रमणको अवस्थाअनुसार स्थानीय प्रशासनहरुले नै आवश्यक निर्णय गर्ने स्थिति यसपटक देखिएको छ ।

संक्रमण बढी देखिएका क्षेत्रहरुका स्थानीय सरकारले निषेधाज्ञासमेत जारी गरिरहेका छन् । कोरोनाभाइरसको जोखिम बढ्दै गएपछि उपत्यकामा जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि लागू हुनेगरी दुई हप्ताका लागि अत्यावश्यक सेवामात्र सञ्चालन गर्ने निर्णय गरेको छ ।

१२० दिन लामो लकडाउन खुलेपछि करिब दुई लाख मानिस काठमाडौं भित्रिएका छन् । यसले महामारी थप बढ्नको लागि सहयोग पुगेको स्पष्ट देखिन्छ ।

काठमाडौं आफैंमा घनाबस्ती भएको स्थान हो र यहाँ संक्रमण दैनिकरुपमा बढिरहेको छ । संक्रमण जोखिम उच्च हुनेतर्फ गइरहेको अवस्थामा सबैले सुरक्षा सवाधानी अपनाउँदै सतर्कताका उपायहरु अपनाउन हेलचेक्र्याइँ गर्नु हुन्न ।