नेपालमा कोरोनाको अवस्था फेरियो: एकाएक मृत्युदर बढ्नसक्ने
काठमाडौँ- केही दिनअघि स्वास्थ्य मन्त्रालयले मुलुकमा कोरोना संक्रमितमध्ये ९९.७ प्रतिशतमा लक्षण नदेखिएको (एसिम्प्टोम्याटिक) बताएको थियो । तर पहिलेको दाँजोमा लक्षण भएका संक्रमित बढी देखिन थालेका छन् । ईडीसीडीका निर्देशक एवं भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले भने, ‘यसले मृत्युदरमा फरक पर्न सक्छ ।’
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा शनिबारसम्म १८ जना भर्ना छन् । ५ जनामा कोरानाको लक्षण देखिएको छ । निमोनियाको समस्यासमेत भएका एक जना आईसीयूमा छन् । जँचाउन आउनेहरूले केही दिनअघि ज्वरोलगायत लक्षण देखिएको भनेर समेत सुनाउने गरेका सरुवा रोग विशेषज्ञ डा.अनुप बाँस्तोलाले बताए ।
भाइरोलोजिस्ट डा. पाण्डे वीरगन्जमा पनि लक्षण भएका कोरोना संक्रमित बढेको बताउँछन् । ‘१० दिन अगाडिसम्म सबैजसो बिरामी बिनालक्षणका थिए, हाल ४० देखि ६० प्रतिशतसम्म लक्षण देखिएको छ,’ वीरगन्जस्थित नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदनकुमार उपाध्यायले भने, ‘ज्वरो, खोकी, स्वासमा समस्या, पखाला, जीउ दुख्ने, गल्नेलगायत लक्षण देखिने गरेका छन् ।’
धेरैजसो संक्रमितमा मधुरो लक्षण छ भने कतिपयमा कोरोना पोजिटिभ पुष्टि भइसकेपछि लक्षण देखिएको छ । पर्सामा मृत्युको संख्यामा समेत वृद्घि भएको छ । धनुषा जिल्लाका आइसोलेसन संयोजक डा. जामुन सिंहका अनुसार कोभिड विशेष अस्पताल जनकपुरमा हाल दिनहुँ एक–दुई जना लक्षणसहितका संक्रमित आइरहेका छन् । ‘खोकी, ज्वरो, दमलगायत कोभिडको लक्षण भएका बिरामी २० प्रतिशत हुने गरेका छन्,’ उनले भने ।
जनकपुर प्रादेशिक अस्पतालमा कोभिडको लक्षण भएको तर पीसीआर परीक्षण नेगेटिभ आएका दुई जनाको मृत्यु भइसकेको छ । जटिल अवस्थाका एक संक्रमित आईसीयूमा भर्ना भएका छन् । ‘हामीले यी तीन बिरामीलाई लक्षण, छातीको एक्स–रे, सिटिस्क्यान रिपोर्टका आधारमा कोरोना भएको भने पनि सरकारको गाइडलाइनमा पीसीआर परीक्षणलाई मात्र मान्यता दिइएको छ,’ डा. सिंहले भने, ‘पीसीआर निगेटिभ देखिए पनि लक्षण र अन्य परीक्षणका आधारमा कोरोना संक्रमित ठहर गर्न सकिने व्यक्तिको संख्या बढ्दो छ ।’
केही दिनअघि लक्षणविहीन कोरोना बिरामी आउने गरे पनि हाल लक्षणसहितको संक्रमित आउन थालेको गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रञ्जित झाले बताए । ‘हाल करिब १५ प्रतिशतसम्म लक्षण भएका कोरोना संक्रमित देखिन थालेको छ । सास फर्न गाह्रो हुने र खोकी लाग्नेजस्ता लक्षण मुख्य रूपमा देखिएको छ,’ उनले भने ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाको मुख्य लक्षण ज्वरो, सुक्खा खोकी र थकान हो । यसका अन्य लक्षणहरूमा जीउ दुख्नु, नाक बन्द हुनु, टाउको दुख्नु, आँखा दुखेर सुन्निनु, घाँटी दुख्नु, पखाला लाग्नु, स्वाद वा सुँघ्ने क्षमतामा कमी हुनु, छालामा बिमिरा आउनु, हार खुट्टाका औंलाको रङ परिवर्तन हुनुलगायत छन् अतुल मिश्रले कान्तिपुरमा लेखेका छन् ।