सम्बन्ध बिग्रिए नेपाललाई भन्दा सात गुणा बढी घाटा भारतलाई हुन्छ
काठमाडौं- सबै कुरा मिलेर पनि धेरै नमिलेको हाम्रो छिमेकी देश हो भारत । भारतसंग हाम्रो संस्कृति, खानपिन, भाषादेखि धेरै कुरा मिल्छ । भारतीय आम नागरिक देखि राजनीतिज्ञहरूले त हाम्रो देशसंग रोटी र बेटीको सम्बन्ध भएको पटक पटक फलाक्ने गरेका छन् । यसको अर्थ खाने लगाउने कुराको निर्भरता देखि नातासम्मको सम्बन्ध नेपालसंग छ भनिएको हो ।
नेपाल र भारतको सम्बन्धमा अलिकति पनि समस्या आयो भने हामीले त्यहाँ बस्ने नेपालीहरूको चिन्ता गर्ने गरेका छौँ । कुनै समय यस्तो पनि थियो पश्चिमका केहि जिल्लाका धेरैजसो नागरिक भारतमा रोजगारीका लागि जान्थे । कुनै यस्ता पनि गाउँ थिए एक घरको कम्तिमा एक जना भारतमा रोजगारीका लागि जान्थे । अहिले भने भारतमा रोजगारी गर्न जानेको संख्या निकम भएको बताइन्छ । रोजगारीका लागि अन्य मुलुकको आकर्षणले गर्दा नेपालीहरूको संख्या भारतमा केहि घटेको देखिन्छ ।
भारत र नेपालको सम्वन्ध बिग्रियो भने नेपाललाई भन्दा सात गुणा बढी असर भने भारतलाई पर्ने तथ्यांकले बताउँछ । यहाँ रोचक बिषय त के छ भने भारतमा रोजगारी गर्ने नेपालीको संख्या भन्दा नेपालमा रोजगारी गर्ने भारतीयको संख्या सातगुणा बढी छ । रोजगारीका लागि नेपाल भारतमा निर्भर छ भन्ने भ्रम भारतीयहरूले फिंजाएको हौवा मात्र हो । यसको अर्को अर्थ के पनि हो भने नेपाल भारतसंग भन्दा भारत नेपालसंग रोजगारीको हिसावले सात गुणा बढी निर्भर छ ।
नेपालका गाउँदेखि शहरसम्म भारतीय नागरिकले ब्यापार गर्नेगर्छन । केहिवर्ष अगाडिको तथ्यांकअनुसार नेपालमा कपाल काट्ने भारतीय नागरिक ९० प्रतिशत भन्दा बढी थिए । अहिले भने त्यो आंकडा केहि कम भएको जानकारहरू बताउने गरेका छन् । यो त एउटा उदाहरण मात्र थियो । कपाल काट्ने मात्र होइन सानोदेखि ठुलो व्यापारमा भारतीय नागरिकको संख्या नेपालमा अत्यधिक छ । नेपालमा मजदुरी गर्ने भारतीयको संख्या पनि उल्लेख्य छ ।
भारतमा ७ लाख आसपास नेपालीहरू भएको अनुमान सरकारी तथ्यांकअनुसार अनुमान गर्न सकिन्छ । तर नेपालमा भारतीयको संख्या ३० देखि ३५ लाख सम्म भएको अनुमान छ। भारतीयलाई नेपालमा र नेपालीलाई भारतमा काम गर्न आउन–जान प्रवेशाज्ञा लिनुपर्दैन । त्यसो हुँदा यी दुवै देशमा एक–अर्का मुलुकका कति नागरिक छन् भन्ने यकिन तथ्यांक भने दुवै देशसंग छैन ।
२०६८ को जनगणनाअनुसार १९ लाख २० नेपाली देशबाहिर छन्, त्यसमध्ये ३७ दशमलव २ प्रतिशत भारतमा थिए । त्यो डाटा अनुसार भनेको सात लाख १४ हजार हो । पछिल्लो समय कामका लागि भारत जाने क्रम घटेको तथा तेस्रो मुलुक जाने क्रम बढेका कारण पनि भारतमा नेपालीको संख्या त्यसभन्दा बढी नभएको अनुमान गर्न सकिन्छ । भारतीय सेनामा मात्रै ३२ हजार नेपाली भएको भारतको विदेश मन्त्रालयको तथ्यांक छ ।
नेपालमा भारतीय कति छन्, भारतमा कति नेपाली छन् भन्ने यकिन तथ्यांक छैन । तर, भारत गएको रेमिट्यान्सको आधारमा भारतमा नेपालीभन्दा नेपालमा भारतीय धेरै गुणा बढी छन् ।
भारतबाट वार्षिक आउने रेमिट्यान्स भन्दा नेपालबाट भारतमा चार गुणा बढी रेमिट्यान्स जाने गरेको विश्व बैंकको डाटाले बताउँछ । सन् २०१९ मा करिव चार खर्ब ७० अर्ब नेपाली रुपैयाँ भारत गएको देखिन्छ । तर भारतबाट एक खर्ब २८ अर्ब रुपैयाँ मात्रै रेमिट्यान्स नेपाल भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।
व्यापारबाट पनि भारत नेपालसँग अतुलनीय फाइदामा छ । भारतको सबैभन्दा ठूला १० व्यापारिक साझेदारमध्ये नेपाल एक हो । गत आर्थिक वर्ष ०७५/७६ मा भारतले नेपाललाई नौ खर्ब १८ अर्बको सामान बेचेको थियो । तर, उसले नेपालबाट जम्मा ६३ अर्बको मात्रै सामान किनेको थियो । नेपालले किन्ने सामानबाट पनि भारतमा रोजगारी तथा समग्र अर्थतन्त्रमा ठूलो फाइदा पुगेको छ ।
भारतले सबैभन्दा बढी रेमिट्यान्स लैजाने देशको लिस्टमा नेपाल आठौँ स्थानमा छ । व्यापारको हिसावले पनि भारतलाई नेपालबाट ठुलो फाइदा छ । एक वर्षमा करिव नौ खर्बको सामान नेपालले भारतबाट किन्ने गरेको छ।