प्रधानमन्त्री ओलीले पार्टीको नेतृत्व गर्न नसक्ने - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

प्रधानमन्त्री ओलीले पार्टीको नेतृत्व गर्न नसक्ने



काठमाडौं- स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले भनिन्– यसरी उहाँले कसरी पार्टीको प्रतिनिधित्व र नेतृत्व गर्न सक्नुहुन्छ ? : बालुवाटारमै बैठक बसिरहेका छौँ । सायद प्रधानमन्त्रीको स्वास्थ्यलाई ख्याल गरेरै बैठक राखिएको होला, तर उपस्थित नै हुनुहुन्न । यो त सीधै बैठकमाथिकै अपमान भयो । उहाँ कुरा सुन्न चाहनुहुन्न । सकभर बैठकै डाक्नुहुन्न, डाकिहाल्यो भने पनि कुरै सुन्न चाहनुहुन्न । सीमा समस्या, राष्ट्रियताको कुरा उठाइरहनुभएको छ । यसरी उहाँले कसरी पार्टीको प्रतिनिधित्व र नेतृत्व गर्न सक्नुहुन्छ ? सुझाबै लिन नचाहने भएपछि त गम्भीर कुरा भयो ।

स्थायी कमिटी सदस्य भीम रावलले भने– प्रधानमन्त्रीले उपेक्षा गर्ने हो भने बैठक धुम्बाराहीमा सारौँ, बालुवाटारमा किन बस्ने ? : बैठकमा झण्डा, ब्यानर केही पनि छैन । राजनीतिक प्रतिवेदनमा सामाजिक न्याय र समानताका कुरा गर्ने, यहाँचाहिँ दुई विशिष्ट व्यक्तिलाई सोफा अनि अरूलाई कुर्सी केका लागि ? पहिला प्रधानमन्त्री अस्वस्थ हुनुहुन्थ्यो, त्यसैले हामी बैठकका लागि यहाँ (बालुवाटारमा) उपस्थित हुने गथ्र्यौँ, अहिले त उहाँ बिरामी पनि हुनुहुन्न, उपस्थित पनि हुनुहुन्न, हाम्रा सुझाब सुन्न पनि चाहनुहुन्न । उहाँले उपेक्षा गर्ने हो भने बैठक धुम्बाराहीमा सारौँ ।

पर्यटनमन्त्री एवं स्थायी कमिटी सदस्य योगेश भट्टराईले भने– पार्टीभित्र रिपोर्टिङ सिस्टम हुन्छ, प्रधानमन्त्री यहीँ हुनुहुन्छ भन्ने ठान्नुस् न ! : बैठकका सबै छलफल–बहस नोटमा उल्लेख गर्छौँ । बहस नोट कार्यालय सचिवहरूले लेख्नुहुन्छ । नोटमा उल्लेख भएका सबै कुराहरू दुवै अध्यक्षलाई रिपोर्टिङ हुन्छ । अन्तिममा अध्यक्षहरूले बहस नोटमा भएका कुराहरूलाई ल्याएर जवाफ दिनुहुन्छ । संसद्मा पनि मन्त्री, प्रधानमन्त्री सधैँ जानुहुन्न । तर, बोलेका कुराहरूको जवाफ दिइन्छ नि ! पार्टीभित्र रिपोर्टिङ सिस्टम हुन्छ । बालुवाटारमै बैठक भइरहेको छ । प्रधानमन्त्री यहीँ हुनुहुन्छ भन्ने ठान्नुस् न !

… … …

दुई अध्यक्षले बुधबारको बैठकमा एक–अर्काप्रति दिएको आक्रामक अभिव्यक्तिको प्रभाव नेकपाको शुक्रबारको स्थायी कमिटी बैठकमा पनि परेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि यसअघि तय भएका सात एजेन्डाबाट शुक्रबारको बैठक एउटा एजेन्डामा मात्रै सीमित भएको छ । शुरोजङ्ग पाण्डेले नयाँ पत्रिकामा लेखेका छन् ।

नेकपाका आठ लाख सदस्य र राजनीतिमा चासो राख्ने जोकोहीले नजिकबाट हेरिरहेको सत्तारुढ नेकपाको बैठकमा राष्ट्रिय महत्वकासँगै प्राविधिक विषयले पनि प्रवेश पाएका छन् । तर, प्राथमिकताका आधारमा एजेन्डामाथिको छलफलमा भने नेकपा चुकेको छ । स्थायी कमिटी सदस्य चक्रपाणि खनाल बलदेवले भने, ‘राष्ट्रको आवश्यकता र बैठकको तालमेल मिल्दैन कि भन्ने चिन्ता छ ।’

दुईपटक स्थगन र ६ महिनापछि बसेको बैठकमा शक्ति बाँडफाँड, सरकारको काम र पार्टी गतिविधिलाई लिएर नेकपाभित्र धु्रवीकरण र शक्तिसंघर्षको अनुमान थियो । बुधबार दुई अध्यक्षले सरकार र पार्टीका विषयमा फरक खालका अभिव्यक्ति दिएपछि त्यसको असर शुक्रबारको बैठकमा पर्ने आकलनपछि बैठक सहज बनाउने कोसिस पनि भएका थिए । तर, बिहीबार भएका कोसिसको असर शुक्रबारको बैठकमा देखिएन ।

त्यसैले बुधबारजस्तै शुक्रबार पनि बैठकमा अविश्वास र असन्तुष्टि देखिएको छ । एजेन्डा तय, शीर्ष नेताको सम्बोधन, सिट व्यवस्थापन हुँदै असन्तुष्टि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको अनुपस्थितिलाई लिएर पनि देखियो ।

बुधबार प्रधानमन्त्री ओली र वरिष्ठ माधवकुमार नेता नेपालबीच सरकारको कामलाई लिएर ‘असहज’ घोचपेच भएको थियो ।

बालुवाटारमै बसेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली अनुपस्थित भएपछि शुक्रबारको बैठकको कार्यसूची नै प्रभावित भएको थियो । सुरुमा दुई अध्यक्षबाहेक सचिवालयका सदस्यहरूले धारणा राख्ने कार्यसूची बनाइए पनि ओली अनुपस्थित भएपछि एकजना सचिवालय सदस्य मात्र बोलेका छन्, अन्य १७ जना स्थायी कमिटी सदस्यले आफ्नो धारणा राखेका छन् । बैठकमा हरेक सदस्यलाई १० मिनेटको समय दिइएको थियो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली बैठकमा नआएकोमा स्थायी कमिटी सदस्यहरूले विरोध र असन्तुष्टि जनाएका थिए । आफैँले दुईपटकसम्म बैठक स्थगित गर्ने र त्यसपछि बोलाइएको बैठकमा पनि सहभागी नहुने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको कार्यशैलीमाथि नेताहरूको प्रश्न थियो । यसअघि २५ र ३१ वैशाखमा तय भएको नेकपाको स्थायी कमिटी बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो ।

‘हामी बालुवाटारमै बैठक बसिरहेका छौँ । सायद प्रधानमन्त्रीको स्वास्थ्यलाई ख्याल गरेरै बैठक राखिएको होला, तर उपस्थित नै हुनुहुन्न । यो त सीधै बैठकमाथिकै अपमान भयो । उहाँ कुरा सुन्न चाहनुहुन्न । सकभर बैठकै डाक्नुहुन्न, डाकिहाल्यो भने पनि कुरै सुन्न चाहनुहुन्न । सबै साथीहरूले सीमा समस्या, राष्ट्रियताको कुरा उठाइरहनुभएको छ । यसरी उहाँले कसरी पार्टीको प्रतिनिधित्व र नेतृत्व गर्न सक्नुहुन्छ ?’ स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले भनिन्, ‘सुझाबै लिन नचाहने भएपछि त गम्भीर कुरा भयो । यदि यस्तै थियो भने त पार्टी कार्यालय धुम्बाराहीमै बैठक बस्दा भइहाल्थ्यो । धुम्बाराहीमा भएको भए हामी मन बुझाउन सक्थ्यौँ, तर ठ्याकराक्कै आँगनमै खुत्रुकै आउँदा हुने ठाउँमा बैठक बसिरहेका छौँ ।’

अर्का नेता भीमबहादुर रावलले बैठकलाई उपेक्षा गरेर अनुपस्थित भएको भए गम्भीर विषय भएको बताए । ‘पार्टीको बैठकमा झण्डा, ब्यानर केही पनि छैन । राजनीतिक प्रतिवेदनमा सामाजिक न्याय र समानताका कुरा गर्ने, यहाँचाहिँ दुई विशिष्ट व्यक्तिलाई सोफा अनि अरूलाई कुर्सी केका लागि ?’ रावलले बैठकमा राखेको भनाइ उद्धृत गर्दै एक सदस्यले भने, ‘पहिला प्रधानमन्त्री अस्वस्थ हुनुहुन्थ्यो, त्यसैले हामी बैठकका लागि यहाँ (बालुवाटारमा) उपस्थित हुने गथ्र्यौँ, अहिले त उहाँ बिरामी पनि हुनुहुन्न, उपस्थित पनि हुनुहुन्न, हाम्रा सुझाब सुन्न पनि चाहनुहुन्न । यसरी उहाँले बैठकलाई उपेक्षा गरेर अनुपस्थित हुने हो भने यो बैठक धुम्बाराहीमा सारौँ ।’

तर, प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार कार्यव्यस्ततालाई कारण देखाउँदै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली बैठकमा अनुपस्थित भएका थिए । ‘प्रधानमन्त्री उपस्थित हुन सक्नुभएन । महासचिवले जानकारी दिनुभएअनुसार अरू काममा व्यस्तताका कारण आउन सकिनँ, बैठक चलाउँदै गर्नुस् । सकेसम्म आउँछु भन्नुभएको रहेछ । तर, उपस्थित हुनुभएन,’ प्रवक्ता श्रेष्ठले भने । ओली नआएपछि बैठक प्रचण्डको अध्यक्षतामा बसेको थियो ।

पर्यटनमन्त्री एवं स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष नआउनुलाई सामन्य रूपमा बिफ्रिङ गरे । ‘बैठकका सबै छलफल–बहस नोटमा उल्लेख गर्छौँ । बहस नोट कार्यालय सचिवहरूले लेख्नुहुन्छ । नोटमा उल्लेख भएका सबै कुराहरू दुवै अध्यक्षलाई रिपोर्टिङ हुन्छ । अन्तिममा अध्यक्षहरूले बहस नोटमा भएका कुराहरूलाई ल्याएर जवाफ दिनुहुन्छ,’ उनले भने, ‘संसद्मा पनि मन्त्री, प्रधानमन्त्री सधैँ जानुहुन्न । तर, बोलेका कुराहरूको जवाफ दिइन्छ नि ! पार्टीभित्र रिपोर्टिङ सिस्टम हुन्छ । बालुवाटारमै बैठक भइरहेको छ । प्रधानमन्त्री यहीँ हुनुहुन्छ भन्ने ठान्नुस् न !’

लीलामणि पोखरेल, पम्फा भुसाललगायतका सदस्यले पनि प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर असन्तुष्टि जनाएका थिए ।

प्रधानमन्त्री नआएपछि एजेन्डाको कार्यसूचीसमेत प्रभावित भएको थियो । सात एजेन्डामध्ये शुक्रबार तेस्रो एजेन्डा नेपालको सीमा समस्या र समाधानमा मात्रै छलफल भएको छ । प्रधानमन्त्री नआएपछि कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र सांगठनिक एकताको बाँकी काम सम्पन्न गर्ने, एमसिसी र विविध विषयको एजेन्डा छलफलको कार्यसूचीमा परेनन् । विविधअन्तर्गत भने रुकुम घटना, नागरिकता विधेयक र संघीय संसद्का सदस्यहरूको भत्ता कटौतीका विषय छन् ।

देशमा अहिले सबैभन्दा ठूलो मुद्दा कोभिड– १९ को नियन्त्रण, रोकथाम र उपचार छ । तर, यो विषयमा नेकपाको बैठकमा दोस्रो दिन छलफल नै भएन । कोभिड– १९ को नियन्त्रण, रोकथाम र उपचारमा सरकारको कामलाई लिएर नेकपाभित्रै असन्तुष्टि छ । तर, सरकारले यसमा धेरै राम्रो काम भएको दाबी गर्दै आएको छ । शुक्रबारसम्म कोरोना संक्रमितको संख्या ११ हजार सात सय ७५ पुगेको छ । २७ जनाको यसैका कारण ज्यान गएको छ ।

बुधबारजस्तै शुक्रबार पनि कुर्सीको मुद्दामा बहस भएको छ । बैठकमा अध्यक्षबाहेकका नेतालाई कुर्सी आसन गराएर विभेद गरिएको भन्दै विरोध दोहोरिएपछि सोफा हटाएर अध्यक्षद्वयलाई कुर्सीको व्यवस्था गरिएको छ । बैठक सुरु हुनासाथ प्रवक्ता श्रेष्ठ र नेता रावलले फरक आसन बनाइएकोमा विरोध गरेपछि तीन मिनेटमै सोफा हटाएर ओली र प्रचण्डका लागि पनि कुर्सीको व्यवस्था गरिएको एक स्थायी समिति सदस्यले बताए ।

‘राजनीतिक प्रतिवेदनमा न्याय र समानताको कुरा लेख्ने अनि अध्यक्षहरूलाई आरामदायी सोफा र अरूलाई मात्रै कुर्सी केका लागि ?’ रावलको आपत्ति उल्लेख गर्दै ती सदस्यले भने, ‘अझै हामी राजा–महाराजाकै शैली अपनाउँछौँ भने हामी कसरी अघि बढ्न सक्छौँ ?’ उनीसहितको आपत्तिपछि प्रचण्डले तत्काल सोफा हटाउन लगाएर कुर्सी व्यवस्थापन गरेका थिए ।

बुधबार पार्टी वरिष्ठ नेता नेपालले सिट व्यवस्थापनमाथि असन्तुष्टि व्यक्त गरेका थिए । मञ्चको अघिल्लो पंक्तिमा दायाँतिर अध्यक्ष ओली, बायाँतिर समानान्तर कुर्सीमा अर्का अध्यक्ष प्रचण्ड थिए । ओलीको ठीक पछाडि दायाँतिर वरिष्ठ नेता झलनाथ खनाल र प्रचण्डको पछाडि बायाँतिर थिए नेपाल । नेपाल आफैँले कुर्सी अघि सारेर अध्यक्षसँगै बसेका थिए । नेपालले कुर्सी सार्नुअघि नेता रघुजी पन्तले नेताहरूको बसाइ नै नमिलेको र सामन्ती चिन्तन देखिएको भन्दै आपत्ति जनाएका थिए ।

नेकपाको बैठक पार्टी कार्यालयको सट्टा सरकारी निवास बालुवाटारमा गर्ने, नेताहरूका लागि फरक–फरक कुर्सीको प्रयोग गर्ने शैलीप्रति नेपालले पार्टीभित्र विरोध जनाउँदै आएका छन् । नेकपाको बैठक र भेलामा वेला–वेला ‘सिटिङ एरेन्ज’ र सामन्ती चिन्तनशैलीका बारेमा नेताहरूले प्रश्नसमेत उठाउँदै आएका छन् । गत माघमा सम्पन्न केन्द्रीय कमिटी बैठकमा ब्यानरमै अध्यक्ष ओली र प्रचण्डको ठूलो आकर्षक फोटो राखिएकोमा केन्द्रीय सदस्यहरूले गम्भीर आपत्ति जनाएपछि हटाइएको थियो ।