बेथितिविरुद्ध देशभर स्वतस्फूर्त आन्दोलन : परिवर्तनको संकेत - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

बेथितिविरुद्ध देशभर स्वतस्फूर्त आन्दोलन : परिवर्तनको संकेत



काठमाडौं- कोरोनाभाइरसको संक्रमण रोक्ने सरकारका कामको सर्वत्र आलोचना भइरहेको बेला बिहीबार देशैभर स्वस्फूर्त प्रदर्शन भएको छ ।

‘लकडाउन’को ८१औं दिनमा राजधानी काठमाडौंसहित देशका दुई दर्जन बढी सहरमा सरकारविरुद्ध प्रदर्शन भएको छ ।

काठमाडौं, विराटनगर, चितवन, पोखरा, धरान, वीरगन्जलगायतका सहरमा जनस्तरबाट शान्तिपूर्ण प्रदर्शन भएको हो ।

राजधानीमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ भने उपत्यकाबाहिर केही मानिसहरु पक्राउ परेका छन् ।

सामाजिक सञ्जालमार्फत् स्वस्फूर्त ‘कोभिड–१९ इनफ इज इनफ’ अर्थात् ‘अब त अति भयो’ अभियानमा उत्रिएका युवा–युवतीहरुले कोरोना नियन्त्रणको नाममा भएको १० अर्ब रुपैयाँको पादर्शिता, ‘क्वारेन्टिन’को व्यवस्थापन, ‘पीसीआर’ परीक्षण बढाउनुपर्ने, औषधि तथा उपकरण खरिदमा भएको भ्रष्टाचार, चिकित्सकलाई आवश्यक सुरक्षा उपकरण उपलब्ध नभएको, ‘एमसीसी’ सम्झौता खारेजी, जबर्जस्तीरुपमा थोपरिएको कर खारेजीलगायतका माग लेखेका प्लेकार्ड बोकेका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारअगाडि भएको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गर्नुका साथै पानीका फोहोरा हानेर प्रदर्शनकारीलाई तितरबितर पारेको थियो । त्यस क्षेत्रमा सरकारले ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो ।

तीनओटा दमकलसहित प्रहरी खटिएको थियो भने ठूला ट्रकहरुबाट प्रहरी ओसारिएको थियो ।

प्रधानमन्त्री निवासअगाडिबाट अगाडि बढेका प्रदर्शनकारी भाटभटेनी हुँदै गैरीधारामा पुग्दा भने प्रहरीले अश्रृग्यास प्रहार गरेको थियो ।

सामाजिक सञ्जालमा बनेको ‘कोभिड–१९ इनफ इज इनफ’ अभियानमा अहिलेसम्म झन्डै एक लाख युवा–युवती सहभागी भइसकेका छन् । यही अभियानले बिहीबारको प्रदर्शन आह्वान गरेको हो ।

प्रदर्शनकारीको आक्रोश प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्तिप्रति पनि देखिन्छ । बुधबार संसदमा बोल्दै प्रधानमन्त्री ओलीले नेपालीको रोग प्रतिरोधी क्षमता बढी भएको भन्दै लसुन, प्याज अदुवाजस्ता मसला प्रयोग गर्न सुझाव दिएकोमा पनि प्रदर्शनकारीले व्यंग्य गरेका छन् ।

त्यस्तै, मन्त्रीहरुका हलुका टिप्पणीहरुमा पनि सर्वसाधारणको असन्तुष्टि रहेको देखिन्छ ।

चितवनको प्रदर्शनका उत्रिएकाहरुले त प्रधानमन्त्रीप्रति व्यंग्य गर्दै ‘नो पीसीआर, नुन, तेल, बेसार, कोरोनाको उपचार’, ‘डा. केपी ओली’ लेखेका प्लेकार्ड बोकेका थिए ।

उता, विराटनगरमा भएको प्रदर्शनमा एकापसमा भौतिक दूरी कायम गरिएको थियो । प्रदर्शनकारीहरु प्लेकार्ड र राष्ट्रिय झन्डा बोकेर उत्रिएका थिए ।

उता, पोखरामा राष्ट्र बैंक चोकदेखि सहिद चोकसम्म दोहोरो मानवसाङ्लो बनाएर युवाहरु प्रदर्शन उत्रिएका थिए ।

मौन प्रदर्शन गरिरहेका युवा–युवतीहरुले विभिन्न माग तथा नारा लेखेका प्लेकार्ड बोकेका थिए ।

बिहीबारको प्रदर्शनले कोरोना महामारीकाबीच सरकारले महामारी नियन्त्रण र सर्वसाधारणको पीडामा देखाएको रबैया र व्यवहारप्रति जनता खुसी छैनन् भन्ने प्रस्ट संकेत गरेको छ ।

यसलाई समयमै नबुझ्ने हो भने सरकारले आगामी दिनमा यस्ता सडक प्रदर्शन अझै धेरै सामना गुर्नपर्ने निश्चित छ ।