सहिद चन्दको सालिक अनावरण सहिदको सम्मान हुनु आवश्यक:नेता धगुरुङ - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

सहिद चन्दको सालिक अनावरण सहिदको सम्मान हुनु आवश्यक:नेता धगुरुङ



 श्रीकृष्ण सिग्देल (चापाकोट) स्याङ्जा/फाल्गुन ७ 

तत्कालीन अवस्थामा विद्रोही माओवादीले हत्या गरिएका काँग्रेसका सक्रिय कार्यकर्ता विष्णु चन्दको सालिक अनावरण गरिएको छ।सरस्वती माबि सेखाममा शिक्षको रूपमा कार्यरत रहेका चन्दलाई अत्यन्तै क्रुर ढङ्गले विद्रोही माओवादीले हत्या गरेको थियो । सेखाम गाविसमा काँग्रेसको खम्वाको रूपमा रहेका चन्दलाई काँग्रेस नै भनेर माओवादीले हत्या गरेको छ । उनको संम्झनामा नेपाली काँग्रेस सेखाम गाँउ कार्य समितिको सक्रियतामा उनको सालिक निर्माण गरी अनावरण गरिएको हो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद धनराज गुरुङ्ले उक्त सालिकको अनावरण गरेका हुन् ।

सहिद चन्द स्मारक तथा प्रतिक्षालय एंव सालिक अनावरण कार्यक्रमको उदघाटन गर्दै नेता गुरुङ्ले मुलुकको परिवर्तनमा शहिदहरुले खेलेको भूमिका कसैले पनि भुल्न नहुने बताए । मान्छे मारेर विचार मर्दैन भन्ने कुरा माओवादीले बुझ्नु जरुरी छ नेता गुरुङ्ले भने,“विष्णु चन्द जस्ता सहिदको आहुतीले मुलुक परिवर्तनमा ठुलो भूमिका खेलेको छ ।” सहिदको सम्मानमा काँग्रेसले कुनै कसुर बाँकी नराख्ने गुरुङ्को भनाई थियो । धेरै शहिदहरुको आहुतीले मुलुक परिवर्तन भए पनि शहिदहरुको सपना अहिले सम्म पनि साकार नहुनु दुखद पक्ष रहेको गुरुङ्को भनाई थियो ।

शहिदहरुको सपना पुरा गर्न पनि मुलुकका दलहरू एकठाँउमा आउनुपर्ने जिकिर गर्दै नेता गुरुङ्ले छिटो भन्दा छिटो निर्वाचन गरेर संविधान कार्यन्वयन गर्नुपर्नेमा जोड दिए।मुलुकमा देखिएको संक्रमणकालिन अवस्थाको अन्त्यका लागि पनि तिनतहको निर्वाचन आवश्यकता रहेको गुरुङ्ले बताए । लामो समयको प्रतीक्षाबाट नेपाली जनताका प्रतिनिधिले निमार्ण गरेको संविधान कार्यन्वयन नहुदा मुलुक अध्यारो तर्फ धकेलीन खोजेको बताउँदै नेता गुरुङ्ले छिटो निर्वाचन सम्पन्न गरेर मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजानुपर्ने बताए । उक्त कार्यक्रममा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि शिव कुमार गिरी, नेपाली काँग्रेस जिल्ला सदस्य विक्रम सारु, सेखाम गाविस सचिव ज्ञान बहादुर सिंजाली, नेपाली काँग्रेसका युवा नेता धुर्व सिंङ ठकुरी, नेपाली काँग्रेस क्षेत्रीय प्रतिनिधि विश्वास पुरी लगाएतले सहिद विष्णु चन्दले काँग्रेसका लागि खेलेको भूमिकाको चर्चा गरेका थिए ।

काँग्रेसले विष्णु चन्द र उनका परिवारालाई भुल्न नहुने बक्ताहरुको जोड थियो । करिब ५ लाख ७५ हजारको लागतमा निर्माण गरिएको चन्द स्मारक तथा सालिकका लागि नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ्ले २ लाख, गाविसबाट ७५ हजार र स्थानीय तथा काँग्रेसका कार्यकर्ताहरुबाट ३ लाख गरी सो निर्माण गरिएको तरुणदलका नेता विश्वास पुरीले बताए । सो निर्माणका लागि चन्दका घरपरिवारले ४ आना जग्गा निःशुल्क उपलब्ध गराएका थिए । २०५८ साल मङ्सिर १४ गते विद्यालयमा पढाउदै गर्दा अपहरण गरी तत्कालीन विद्रोही माओवादीले चन्दको हत्या गरेका थिए । चन्दका दुई छोराछोरी र एक श्रीमती रहेका छन् । चन्दको सालिक निमार्णले सेखामका काँग्रेसी कार्यकर्ताहरुमा उत्साह थपिएको बताइएको छ । मरेपछि पनि काँग्रेसले सम्झने काम गरेको भन्दै उनीहरूमा उत्साह थपिएको बताइएको छ ।