सरकार, सीमामा क्वारेन्टाइन पुरा गरेका नेपाली ल्याउदा के बिग्रन्छ ?
काठमाडौँ- विगत २० दिनदेखि देशका सबैजसो नाकामा हजारौँ नेपाली अलपत्र परेका छन् । ति मध्य धेरैले क्वारेन्टाइनको समय पार गरिसकेका छन् । तर अहिले पनि उनीहरूले आफूहरूलाई नेपाल प्रवेश गराउन अनुरोध गर्दै सबैलाई आग्रह गरिरहेका छन्
छिमेकी मित्रराष्ट्र भारतमा कोरोना सङ्क्रमणको महामारी देखिएपछि त्यहाँ मजदुरी गर्न गएका नेपालीहरू सीमानामा आएर रोकिएको हप्तौँ भैसकेको अवस्थामा पनि उनीहरू देशभित्र प्रवेश गर्न नापाएपछि सरकार नै नभएको महशुस गरिरहेका छन् ।
निकै दुख र कष्टका साथ कैयौँ दिनसम्म हिँडेर सीमासम्म आएका उनीहरू अलपत्र जस्तै छन् । आफ्ना ल्याकतले भ्याएसम्म जनप्रतिनिधि र चिनजानका आफन्तमार्फत नेताहरूदेखि सरकार सम्म हारगुहार गरिरहेका छन् ।
देशमा लकडाउन भएको बहानामा सरकारले आफ्नै नागरिक पनि ल्याउन नमानेपछि क्वारेन्टाइनमा राख्ने भनेर नजिकैको स्कुल र खाली चौरमा २० दिनदेखि राखिएका उनीहरू दिनहुँ आफ्नो राज्य, सरकार र चुनावमा जिताएका नेताहरू खोज्दै तड्पिरहेका छन् ।
रुपन्देहीको सुनौली नाकामा २० दिन अगाडी आएर पनि देश प्रवेश गर्न नपाएका ३ सय १८ जना नेपालीहरू नौतनहवाको स्कुलमा क्वारेन्टाइन अवधि काटिसकेर पनि नेपाल ल्याउने सरकारको छाँटकाँट नदेखेर रुन र गुनासो गर्न बाध्य छन् ।
कस्तो छ उनीहरूको अवस्था?
सरकारले १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने भनेपछि नौतनहवाका प्रहरी अधिकारी र स्थानीय प्रतिनिधिले नजिकैको स्कुललाई क्वारेन्टाइन बनाएर बस्ने र खाने व्यवस्था गरेको थियो । सुरुका दिनहरूमा दुई छाक खाना दिइएको थियो । १४ दिन काटेपछि एक छाक खानमात्र दिने त्यो पनि कहिले निकै पिरो बनाएर खाना नसक्ने अवस्था बनाउने कहिले स्थानीयहरू धेरै पटक आएर आफूहरूसँग गुनासो गर्न थालेको उनीहरू बताउंछन् ।
त्यतिमात्र होइन जसले त्यहाँ ब्यबस्था गरेर राखेका थिए उनीहरू दिनमै पटक पटक आउंदै तिमीहरूको सरकारले लैजाने खोजेन भन्दै आफूहरूलाई टर्चर गर्न थालेको समेत उनीहरूले गुनासो गर्न थालेका छन् ।
इन्टरनेट र मोबाइलको टावर सम्म पनि राम्रोसँग नटिप्ने स्थानमा बसेका उनीहरू रेडियोको समाचार सुन्दै आफ्नो उद्दारको समाचार कुरिरहेको बताउँछन् । रेडियोको समाचारमा विभिन्न देशले आफ्ना नागरिकलाई चार्टर विमानमा उदार गरिरहेको समाचार सुन्दा अमिलो महसुस गर्ने गरेको सुनाउँछन् ।
‘आफ्नै देशको सरकार र नेताहरूले कानमा तेल हालेर आँखामा मास्क लगाएर बसेपछि अरूले गर्ने त कुरै भएन’ उद्दारको पर्खाइमा रहेका एकले गुनासो पोख्दै भने । उनले भने, ‘सुरुमा १४ दिन बसेपछि नेपाल लैजाने भनियो अहिले २० दिन पुग्दासम्म पनि न कसैले यतिदीन लाग्छ भनेर सूचना दिन्छ न कोही सम्पर्कमा आउँछन्।’
परिवारसँग पनि सम्पर्कगर्न नपाएको गुनासो गर्दै अर्का नेपालीले भने ‘कम्युनिस्टको सरकार त आफ्नै जस्तो लाग्थ्यो तर उनीहरू झनै खत्तम रहेछन् ।’ उनले थपे पहिले घरमा आएर टिकट माग्ने र हात जोड्ने स्थानीय तह देखि केन्द्रसम्मका नेताहरूलाई धेरै पटक गुनासो गरेँ कसैले वास्ता नै गरेनन् ।’
त्यति मात्र होइन त्यहाँ रहेका कतिपयले ‘नेपाली भएर जन्मिनु नै ठुलो अभिशाप’ भएको समेत बताउँछन् ।
कैयौँ दिन भारतमा दुख पाएपछि मरे पनि आफ्नै देशमा मरौँला भनेर आएका उनीहरूलाई सरकारले दिएको सास्ती र उनीहरूले पाएको दुख सुन्दा गहभरि आँसु हुने एक नागरिक अभियन्ताले बताउँछन् ।
देशभर सहर देखि गाउँसम्म हजारौँ क्वारेन्टाइन बनाएका समाचार सुनिन्छन्, जनप्रतिनिधिहरूले सेल्फी फसबुकभरी हालेका छन्, ठुला ठुला मिडियामा साना साना क्वारेन्टाइन बनेका र नागरिकलाई सेवा दिने उद्धार गरिने भन्ने स्पोन्सर गरिएका समाचार आएका छन् । के यसरी जनतालाई दुख दिएर, सिमानामा तड्पाएर, ठुला ठुला भाषणले मात्र देश चल्ला त सरकार ?
सीमामा क्वारेन्टाइन अवधि पुरा गरेका आफ्ना नागरिक पनि ल्याउने सरकारकै शक्ति छैन भने प्रस्ट भन्नुपर्यो होइन भने नागरिकको ज्यान थप जोखिममा पारेर ठुला भाषण गर्ने दिन सकिने निश्चित छ । यत्ति भनौँ अर्को चुनावमा जनताले लात हान्ने अवस्थाको कारण यही नबनोस् ।