नेपालमा संक्रमणको तेस्रो चरण: नागरिकको अबको जिम्मेवारी
-डिकेन्द्र ढकाल, समाजशास्त्री
बैशाख २ गतेको निर्णयबाट नेपाल सरकारले फेरि बन्दाबन्दी लम्बाएको छ । अहिले हामी एक प्रकारको ‘युद्ध’को अवस्थामा छौँ । युद्धको बेलामा कमान्डरले दिएको आदेश राम्ररी पालना नै गर्नुपर्ने हुन्छ । सरकारको असल प्रयासलाई साथ दिनै पर्छ ।
त्यसैले यति बेला नागरिकले पनि आफ्नो तर्फबाट गर्नुपर्ने जिम्मेवारी सुझबुझ ढंगले राम्ररी पूरा गर्नुपर्छ । कुनै पनि महामारीविरुद्ध लड्न सरकारी प्रयासमात्र प्रयाप्त हुँदैन । सामाजिक प्रयास र सहयोगको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ ।
हाम्रो जस्तो मुलुकमा स्वास्थ्य परिक्षणको सुविधा अति कम छन् । सरकारबाट सुविधा बढाउन प्रयास होला । बढाउन प्रयास हुनुपर्छ । तर पनि हामीले के अन्दाज गर्न सक्दछौँ भने यति बेला सरकार सबै आवश्यक ठाउँमा गुणस्तरीय र भरपर्दो सेवा सहित पुग्न सक्ने क्षमता नै राख्दैन । ऐले त्यसको लेखाजोखा गरेर साध्य छैन ।
त्यसैले अहिलेको अवस्थामा सरकार र आम जनताले हातेमालो गरेर रोगसँग लड्ने व्यवस्थापकीय क्षमता देखाउनु पर्दछ । यस आलेखमा अब म कोरोना भाइरस फैलिने माध्यमबारे सामान्य चेतना, कोरोना भाइरस स्वास्थ्य साक्षरता र सर्ने रोगको बिरामीलाई हेरिने समाजमा व्याप्त दृष्टिकोण एवं उनीहरु प्रति गरिने व्यवहार र यिनका परिणामका महत्वपूर्ण पाटा केलाउन प्रयास गर्दछु ।
हप्तै पिच्छे लकडाउन (बन्दाबन्दी) लम्बिँदै गएको बेला सबैभन्दा पहिला त बन्दाबन्दी भनेको के हो र किन आवश्यक छ भन्ने कुरा आम मानिसले बुझ्नु र बुझेकाले बुझाउन आवश्यक देखिन्छ ।
बन्दाबन्दी खास गरेर सहरी र बढी भिडभाड हुने ठाउँलाई सामाजिक दुरी कायम गर्न गराउन अपनाइएको विधि हो । बन्दाबन्दीमा बस्न नपर्ने भेगमा रहेका किसानहरुलाई खेतिकिसानी काममा लाग्न प्रेरित गर्नुपर्छ र आफ्ना खेतबारीमा घरपरिवारका सधैं सँगै बसेकासदस्यसँगै बसेर काम गर्दा संक्रमणको डर हुँदैन भन्ने बुझ्नु बुझाउन अति आवश्यक छ ।
अहिले कतिपयलाई के भ्रम छ भने घरबाहिर निस्कनसाथ कोरोना भाइरसको डर हुन्छ । हो, तर यो भनेको घर बाहिर निस्कनासाथ अर्को शंकास्पद मानिससँग भेट हुने सहर र भिडभाड हुने ठाउँमा लागु हुने कुरा हो ।
अर्को महत्वपूर्ण कुरा आम मानिस जो धेरै पढेलेखेका छन्; उनीहरुलाई पनि ” स्वास्थ्य निरक्षरता”का कारण धेरैजसोले के कुरा बुझेका हुँदैनन् भने कुनै व्यक्तिमा कोरोना भाइरस संक्रमण भए पनि संक्रमण प्रमाणित हुन समय लाग्दछ र उक्त व्यक्तिले त्यतिन्जेल रोग सारिरहेको हुन सक्छ । यसलाई यहाँ अल्लि विस्तारमा वर्णन गर्न चाहन्छु ।
अहिले कोरोना संक्रमणबारे नेपाल दोश्रो चरणमा पुगेको पुष्टि भइसकेर पनि अब तेस्रो चरण अर्थात् कस्लाई कोबाट स-यो भन्ने पत्तै लगाउन नसकिने चरणको संघारमा पुगिसकेको स्थिति हो । यति बेला जो पनि संक्रमित हुन सक्छन् । पहिलो चरण भनेको कोरोना भाइरस संक्रमण देश बाहिरबाट आएको व्यक्तिमा देखिनु हो । दोश्रो चरणमा पुग्नु भनेको मुलुकभित्रै संक्रमण एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सरेको पाइनु हो । यसलाई ‘समुदाय संक्रमण’को चरण पनि भनिन्छ । समुदाय भन्नाले सजिलै पहिचान गर्न सकिने समुह हो: जस्तै परिवार, भेटघाट हुने वरिपरीका साथिभाइ नातागोताको संजाल आदि ।
कोरोना भाइरस समुदाय संक्रमणको चरणमा पुगेपछि थाहै नपाइकन र कतिपय अवस्थामा कुनै पनि व्यक्तिमा लक्षण नै नदेखिइकन फैलिरहेको हुनसक्छ । जब स्वास्थ्यको हिसाबले कमजोर जनसंख्या (vulnerable Health population) मा भाइरसले प्रवेश गर्दछन् र तिनीहरु अस्पताल जानुपर्ने गरी बिरामी पर्छन् अनि भटाभट कोरोना संक्रमित बिरामीहरु देखिन थाल्छन् र अवस्था विस्फोटक हुन्छ ।
जस्तै “क” भन्ने स्वस्थ व्यक्तिले “ख” भन्ने स्वस्थ व्यक्तिलाई र “ख” भन्ने व्यक्तिले ले “ग” लाई सार्दा २/४ हप्ता बितिसकेको हुन्छ र “ग” ले “घ” लाई सार्दामात्र “घ” भन्ने व्यक्तिमा लक्षण देखिन सक्दछ । उता “क” र “ख” कहिल्यै बिरामी नपरिकन हिँडडुल गरिरहेका हुनसक्छन् र उनीहरुमा कोरोना भाइरसको मिति पुगिसकेर निष्कृय भैसकेका हुनसक्छन्। र “ग” भन्ने व्यक्तिले अलिअलि बिरामी महसुस गरे पनि जँचाउन वास्ता नगरेको हुनसक्छ । त्यसैले नेपालमा अन्तर्राष्ट्रिय आवतजावत रोकिएपछि र केही हप्ताको लकडाउनपश्चात् भाइरस अब नियन्त्रणमा आयो र अब केही हुँदैन भन्ने निष्कर्षमा पुग्नु मूर्खता र हतारो निर्णय हुन्छ ।
यसैलाई कोरोना भाइरसबारे अध्ययन गरिएको चिकित्साशास्त्रको भाषामा भन्दा ८० प्रतिशत जति संक्रमित व्यक्तिहरुमा संक्रमणको कुनै लक्षण नै नदेखिने वा अति सामान्य लक्षण देखिने हुन्छ । संक्रमणको यस्तो अवस्थालाई “असिम्प्टम्याटिक” (संक्रमण भैकन पनि लक्षण नदेखिएको) भनिन्छ । यी व्यक्तिहरुले भाइरस अरुलाई सारिरहेका हुन सक्दछन् ।
लक्षण भएका व्यक्तिलाई पनि स्वास्थ्य परिक्षण गर्न प्रयोगशालामा पहुँच पुगेमात्र कोरोना भाइरस संक्रमण भएको प्रमाणित हुने हो । त्यसैले रोगको लक्षण देखा परेर पनि उनीहरुको स्वास्थ्य परिक्षण गरेर रोग भएको प्रमाणित हुने बेलासम्म उनीहरुका सम्पर्कमा आएका धेरै मानिसलाई भाइरस सरिसकेको हुनसक्छ भन्ने कुरा बुझ्न आवश्यक छ । यसकारण सरकारले अहिले गरेको लक्डाउन लम्ब्याउने निर्णयलाई उचित निर्णय मान्नु पर्दछ ।
अर्को कुरो हाम्रो समाजमा रोग लागेका मानिसहरुलाई सामाजिक तिरस्कार र वहिष्कीकरणको ठूलो डर छ । हाम्रो समाजमा आफ्नै प्रकारका अन्धविश्वास, कुरीति र खराब आचरण व्याप्त छन् । एक प्रकारले कतिपय सवालमा मानव जाति पाखण्डी छ । मानिसलाई जुन बेला सबै भन्दा बढी सहयोग र माया चाहिन्छ त्यही बेला हामीले उसलाई बहिस्कार गरिदिन्छौँ ।
भर्खरैको इतिहासलाई हेर्दा कुष्ठरोग, टिबी, एड्सका बिरामीलाई गरिएको व्यवहार पटक्कै मानवीय छैन । राजकुमारी डाइनाले यस्तै तिरस्कारको पाखण्डलाई उदाहरणले नै उत्तर दिन कुष्ठरोगी र एड्सका बिरामीलाई नाङ्गा हातले प्रेमपूर्वक स्पर्श गरेकी थिइन् । रोग जस्लाई पनि लाग्न सक्छ र रोगीलाई सहयोगको जरुरत पर्छ, माया र हौसला चाहिन्छ । यो माया चाहिने व्यक्तिको कुरा भयो । तर जब व्यक्तिले माया पाउँदैन र जब ऊ तिरस्कृत हुने सम्भावना हुन्छ, ऊ रोग लुकाउन वाध्य हुन्छ । यसको नतिजा यस्तो महामारीको बेला निकै महँगो हुन जान्छ किनभने ऊ समाजमा रोग लुकाएर बस्दा सयौँलाई रोग सारिरहेको हुन्छ र पूरै समाजलाई रोगी बनाउने सम्भावना हुन्छ ।
खासमा यसमा दोषी व्यक्ति होइन; तिरस्कार र बहिष्कार गर्ने समाज नै दोषी हो । यसकारण संक्रमण जो कोहीलाई हुन सक्ने भएकोले कसैलाई पनि तिरस्कार र वहिष्कीकरण नगरौँ । यसबारे सरकार, सामाजिक अभियन्ता, आमनागरिक डटेर चेतना जागृत गरौँ ।
नेपालको कुरा गर्ने हो भने आजका मितिसम्म कोरोना संक्रमण प्रमाणित भएका सबै जनाले यस अगि नै अरु थुप्रै व्यक्तिलाई भाइरस सारिसकेका हुन सक्छन् । तुलनात्मक हिसाबले हाम्रो देशमा भन्दा निकै राम्रो परिक्षण हुने र बिरामीको नजिकबाट निरिक्षण हुने देशमा समेत यो संक्रमण फेला नपरिकन हप्तौँ बितेको र उल्लेख्य संख्यामा संक्रमण भएपछि मात्र संक्रमणले महामारीको रुप लिन थालेको पुष्टि भैसकेको छ ।
हाम्रो जस्तो मुलुकमा परिक्षणको सुविधाको कमी, सामाजिक तिरस्कार र वहिष्करणको डर र स्वास्थ्य निरक्षरताका कारण संक्रमणका लक्षण देखिए पनि संक्रमण प्रमाणित हुन समय लाग्नेछ । यसो हुँदा महामारी झनै भयाभव हुने सम्भावना हुन्छ । त्यसकारण अबको समयमा सरकारले परिक्षणको गति तिब्र बढाउन, उपचारको सुविधा बढाउन ध्यान पु-याओस् र नागरिकले पनि आफ्नो सामाजिक दायित्व निर्वाह गरून् ।