चोरीको सामानसहित बुवाछोरा पक्राउ
कैलाली । जिल्ला प्रशासन कार्यालय कैलाली अगाडि रहेको प्रिया सुन चाँदी पसलमा हिजो राति चोरी गर्ने दुई जना पक्राउ परेका छन् ।
चोरी गरेको आरोपमा धनगढी उपमहानगरपालिका -१ कारागार रोड बस्ने बर्ष ४५ का पप्पु गुप्ता र उनका २० वर्षीय छोरा पवन गुप्तापनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पप्पु यस अघि लागु औषध तथा सार्वजनिक अपराधमा मुद्दामा पक्राउ परिसकेका व्यक्ति हुन् ।
पसल सञ्चालक बिनोद कुमार बर्माले सुनको पाँच जोडी टप, चाँदीको सामान सहित १० लाख बढिको चोरी भएको बताएका छन् ।
गुप्ताले आफ्नै घरको छतमाथिको पानी ट्यांकी भित्र लुकाएको अवस्थामा चोरीका सामान बरामद गरिएको प्रहरीले जनाएको छ । चोरीको आरोपमा पक्राउ परेका पप्पु र उनका छोरा ठेलामा फलफूल र तरकारी बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ ।