पत्याउनु हुन्छ ?बाटो बनाउँदै ९२ वर्षीय वृद्ध - Himal Post Himal Post
  • ११ श्रावण २०८३, सोमबार
  •      Mon Jul 27 2026
Logo

पत्याउनु हुन्छ ?बाटो बनाउँदै ९२ वर्षीय वृद्ध



सोलुखुम्बु, मङ्सिर २५ गते । चौलाखर्क–८ सोलुखुम्बुका ९२ वर्षीय भीमबहादुर बस्नेतले सामाजिक सुरक्षा भत्ताबापत पाएको रकमबाट गाउँमा पाँच किलोमिटर गोरेटो बाटो मर्मत तथा सरसफाइ गराउनुभएको छ ।

बस्नेतले गत वर्ष प्राप्त गर्नुभएको एक वर्षको सामाजिक सुरक्षा भत्ताबापतको रकम रु १२ हजार खर्च गरेर खाजाको व्यवस्था गरी स्थानीय युवामार्फत बाटो मर्मत तथा सरसफाइ गर्नुभएको हो ।

स्थानीय मानबहादुर बस्नेतका अनुसार वृद्धले खाजाको व्यवस्था गर्छु तिमीहरु बाटो मर्मत गर भनेपछि गाउँका ३० भन्दा बढी युवायुवती मिलेर बाटो मर्मत गरेका हुन् । उनीहरुसँग वृद्ध बस्नेत पनि कोदालो लिएर बाटो मर्मत गर्न निस्कनुभएको थियो । गाउँका मानिस आवातजावात गर्ने तथा बालबालिका हिमगङ्गा उच्च मावि जाने सो बाटो जीर्ण बनेकाले मर्मत गर्नुपर्छ भन्दै वृद्ध भीमबहादुरले गत वर्ष गाउँ परिषद्मा बजेट माग गर्नुभएको थियो तर बजेट प्राप्त नभएपछि गत वर्ष मासिक रु एक हजारका दरले प्राप्त गरेको भत्ता खर्च गरेर युवामार्फत बाटो मर्मत गर्नुभएको हो ।

बाटो मर्मत पछि वृद्ध बस्नेतले भन्नुभयो “यस वर्ष त झनै महिनाको रु दुई हजार भएको छ, अर्को वर्षसम्म बाँचे भने यो वर्षको रु २४ हजार पनि गाउँमा बाटो सजिलो बनाउन खर्चन्छु ।” बस्नेतले गाउँमा बाटो बनाउँदा पछि आफू स्वर्ग जाने बाटो सहज हुने विश्वास व्यक्त गर्नुभयो । रासस

तस्बिर ;ईन्टरनेट