८८ केजी सुन तस्कर मिङ फरार, चुनौतीपूर्ण बन्दै अनुसन्धान - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

८८ केजी सुन तस्कर मिङ फरार, चुनौतीपूर्ण बन्दै अनुसन्धान



 भदौ २१, काठमाडौं-

प्रहरीले आइतबार बिहान ८८ किलो अवैध सुन नियन्त्रणमा लिइरहँदा चिनियाँ तस्कर वान विई मिङ पाँचेतारे होटल र्‍याडिसनमा मस्त निद्रामा थिए । इतिहासमै सबैभन्दा ठूलो परिमाणमा सुन बरामद भएको खबरले बजार तातिसक्दा बिहान १० बजे उनी आरामपूर्वक होटलबाट बाहिरिँदै फरार भए । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

पासपोर्ट देखाएनन्
होटल स्रोतका अनुसार बाहिरैबाट रुम बुक गरी साँझ अबेर होटल आएका उनले आफ्नो पासपोर्ट देखाएनन् । बरु नेपाली लाइसेन्स राख्न खोजे । रिसेप्सनिस्टले लाइसेन्सले नहुने भनेपछि उनले आफ्नो पासपोर्ट अध्यागमन विभागमा छाडेको हुनाले सोमबार बिहान चेक आउट हुनेबेलासम्म ल्याउने भनी आश्वस्त गराए । हालसालै जागिर खाएकी रिसेप्सनिस्टले त्यो कुरा पत्याइन् । तर, भोलिपल्ट बिहान निस्केको उनी फर्केनन् । बरु केही घन्टामा प्रहरीको टोली आएर सोधखोज गर्न थाल्यो र सुन तस्करले आफू जोगिन होटल प्रयोग गरेको थाहा लाग्यो ।

तत्काल अनुसन्धान
‘यो घटना अनपेक्षित हो । तत्काल मिटिङ राखेर हामी स्टाफलाई यस्ता घटना हुन सक्नेप्रति सचेत गरायौं,’ होटलका एक कर्मचारीले भने ।महानगरीय प्रहरी महाशाखाले र्‍याडिसनमै भेटिएको चिनियाँ तस्करको नेपाली लाइसेन्सका आधारमा तत्काल अनुसन्धान अगाडि बढायो । उक्त लाइसेन्स यातायात व्यवस्था विभागबाट जारी भएको देखिए पनि त्यसका लागि चिनियाँले आफ्नो पासपोर्टको प्रतिलिपिसमेत नराखेको (वा गायव पारिएको) पत्ता लागेको छ ।

कसरी लाइसेन्स दिइयो ?
विभागको रेकर्डमा सवारी अनुमतिपत्र वाहकको उल्लिखित नामबाहेक ‘ठेगाना चीन, हुलिया आँखा चिम्सा’ भन्ने मात्र उल्लेख भएको प्रहरीको भनाइ छ । विदेशी नागरिकको पासपोर्टको प्रतिलिपिसमेत नराखी कसरी लाइसेन्स दिइयो भन्नेमा अहिलेसम्म अनुसन्धान सुरु हुन सकेको छैन ।

फेसबुक, विच्याटबाट अनफ्रेन्ड
उच्च प्रहरी स्रोतका अनुसार मिङको एउटा मोबाइल नम्बर होटलबाट बाहिरिँदासम्म चालू नै थियो । प्रहरीको बुझाइमा उनले आफूलाई सुरक्षित राख्नका लागि कसैबाट निरन्तर जानकारी लिइराख्न एउटा मोबाइल नम्बरलाई त्यतिखेरसम्म चालु राखेका हुन् । उनले तत्काल निरन्तर सम्पर्कमा रहने आफ्नै स्वामित्वमा रहेको ठमेलस्थित काठमाडौं वान होटलका कर्मचारीलाई फेसबुक, विच्याटबाट समेत अनफ्रेन्ड गरे ।

पत्नीलाई हकाँ राखे ?
उनी होटलबाट निस्केको केहीबरेमै आफूहरू पुग्दा अनुसन्धान टोलीलाई थकथक भएको एक जानकार स्रोतले भन्यो ।मिङले आफू होटलमा सुतेर पत्नी याङ वेन विङलाई चाहिँ कहाँ राखेका थिए भन्ने खुलेको छैन । दुवै फरारको खोजीमा प्रहरीले निरन्तर प्रयास गरेको छ । अनुसन्धानकर्ताले आशंकित नम्बरको कल रेकर्ड अध्ययनका साथै सम्भाव्य ठाउँमा निगरानी र तलासीको क्रम जारी राखेका छन् ।

अनुसन्धान चुनौतीपूर्ण
यकिन तथ्य हात पार्न नसक्दा प्रहरीलाई अनुसन्धान चुनौतीपूर्ण बन्दै गएको छ । साथै, ठूलो परिमाणमा सुन बरामद हुँदा जस लिने होड प्रहरीका विभिन्न निकायबीच चल्दा प्रवाहित सूचना बाझिएका छन् । सुराकदेखि बरामदसम्मको सम्पूर्ण प्रक्रियामा बाजी मारेको महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले अनुसन्धान गरिरहेको छ ।’अनुसन्धान जारी छ । निष्कर्षमा नपुगी केही भन्न सकिन्न,’ महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनीले भने ।

धेरै चलाख तस्कर
करिब ११ वर्षदेखि सपरिवार नेपाल बस्दै आएका तस्कर मिङले आफ्ना महत्वपूर्ण व्यक्तिगत जानकारी हमेसी नखुल्ने गरी गतिविधि गर्दै आएको पुष्टि भएको छ । लाइसेन्समा समेत उनले नाम फरक पारेको देखिएको छ । लाइसेन्स जारी गर्दा सहजै रकमको चलखेल हुने यातायात व्यवस्था विभागमा यस्तो लापर्वाही सम्भव हुनुमा अनुसन्धानकर्ता अचम्म मान्दैनन् ।