यसरी भेटियो तस्करीको सात किलो सुन - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

यसरी भेटियो तस्करीको सात किलो सुन



रसुवा । चीनबाट स्याउ लिएर काठमाडौं आउँदै गरेको एउटा ट्रकबाट मंगलबार अपराह्न सात किलो सुन बरामद भएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले रसुवाको टिमुरेबाट सो परिमाणको सुन बरामद गरेको हो । सुनसहित संयुक्त टोलीले ना ६ ख ९०६८ ट्रकका चालक रसुवाको नवकुण्ड गाउँपालिका–१ यार्सा घर भएका शेर ग्याल्पो घलेलाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीका इन्सपेक्टर दिलिप क्षेत्रीलाई सो ट्रकमा तस्करीको सुन रहेको सूचना आएपछि प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले ट्रकलाई नियन्त्रणमा लिएर सुनको खोजी गरेको थियो । खोजीका क्रममा चालकको सिटमाथिको सिलिङमा कपडाले बेरेको अवस्थामा सुन बरामद भएको हो ।

नेपाल–चीन सीमा नाका रसुवागढी नजिकै टिमुरेमा अहिले नेपाली सेनाको गुल्म, सशस्त्र प्रहरीको राजस्व तथा भन्सार गुल्म र नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय रहेको छ । तीन ओटै सुरक्षा निकायले चीनको केरुङबाट आएका सवारी साधनको चेकजाँच गर्दै आएको छ ।

यो सीमा नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले आपसी समन्वयमा सुरक्षा चेकजाँचलाई कडाइ गर्दै आएको छ ।