अब लोकमान विरुद्ध तपाईले पनि उजुरी दिन सक्नु हुन्छ - Himal Post Himal Post
  • १८ आश्विन २०८१, शुक्रबार
  •      Fri Oct 4 2024
Logo

अब लोकमान विरुद्ध तपाईले पनि उजुरी दिन सक्नु हुन्छ



९ कात्तिक, काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्ध सर्वसाधरणसमेतले महाभियोग सिफारिस समितिमा उजुरी दिन पाउने भएका छन् ।

समितिको कार्यविधि तय गर्दै सिफारिस समिति मातहतको उपसमितिले कार्कीका काम कारबाहीविरुद्ध सर्वसाधरणले पनि उजुरी दिनसक्ने व्यवस्था गरेको हो ।

तर, सर्वसाधरणले उजुरी दिन पाउने व्यवस्था उपसमितिले कार्यविधिमा राखे पनि उजुरी दर्ताअघि कम्तीमा तीन जना सांसदले प्रमाणित गर्नुपर्नेछ।

उपसमितिले कार्यविधिलाई करिब अन्तिम रूप दिएको छ ।  मङ्गलबार दिउँसो बस्ने बैठकले मात्र कार्यविधिबारे अन्तिम निर्णय गर्ने अाजको गोरखापत्रमा समाचार छ ।

उपसमितिको प्रतिपेदन समितिमा पेस भई पारित भएपछि कार्यान्वयनमा आउनेछ ।  उपसमिति सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका संसदीय दलका प्रमुख सचेतक दिलनाथ गिरीले उपसमितिले सर्वसाधरणले उजुरी दिन सक्ने व्यवस्था गरेको जानकारी दिए। उजुरीकर्ता सर्वसाधरणलाई समितिले आवश्यक परे थप प्रमाणसमेत माग्न सक्नेछ ।

संसद्को कार्यसञ्चालन नियमावलीले नै समितिको धेरै कार्यविधि तय गरेको छ ।  नियमावलीले आरोपितलाई सफाइको मौका दिनुपर्ने समयसीमा, काम सुरु गरेपछि प्रतिवेदन दिने समय, विज्ञसँग राय लिन सक्ने व्यवस्था नियमावलीमा नै गरेको छ ।  अन्य समितिको हकमा यस्ता प्राविधिक विषय कार्यविधिले नै तय गर्ने गरेको छ ।