निर्वाचनको मुखैमा १२ जिल्लाका सीडीओ फेरिए- काठमाडौंमा घनश्याम उपाध्याय - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

निर्वाचनको मुखैमा १२ जिल्लाका सीडीओ फेरिए- काठमाडौंमा घनश्याम उपाध्याय



काठमाडौँ- निर्वाचनको मुखैमा सरकारले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा गरेको छ । काठमाडौं र ललितपुरसहित १२ जिल्लाका सिडियोहरूको सरुवा गरिएको बताइएको छ।

गृह मन्त्रालयले उपत्यकालगायत महत्त्वपूर्ण जिल्लाका सीडीओहरूको सरुवा गरेको हो । स्रोतका अनुसार काठमाडौँको सिडियोमा घनश्याम उपाध्याय आएका छन् । उनी ललितपुरको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत थिए ।

यसअघि काठमाडौंका प्रजिअ रहेका गोविन्द रिजाल भने मन्त्रालयको कर्मचारी प्रशासन प्रमुखमा तानिएको बताइएको छ ।

यस्तै कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई ललितपुर तानिएको छ, मन्त्रालयको प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसीलाई कास्कीको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ ।

जुम्लाकी प्रजिअ विजयाकुमारी प्रसाईँ मन्त्रालय तानिएकी छन् भने जुम्लाको प्रजिअमा मुकेशकुमार केसरीको सरुवा भएको छ । दैलेखको प्रजिअमा गोगनबहादुर हमाललाई पठाइएको छ भने दैलेखका हरि प्याकुरेललाई बाँकेको सहायक प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।

सूचना विभागको महानिर्देशक रहेका हमाल केही समयअघि गृह मन्त्रालयमा सरुवा भएका थिए । यस्तै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीलाई इलाका प्रशासन कार्यालय सिमरा सरुवा गरिएको छ भने पाँचथरका प्रजिअ सुरेश न्यौपानेलाई मन्त्रालय र पाँचथरको प्रजिअमा गणेश गैरेलाई पठाइएको छ ।

सङ्खुवासभाका प्रजिअ नुरहरी खतिवडालाई सप्तरीको प्रजिअमा, सप्तरीका प्रजिअ जनार्दन गौतमलाई उदयपुरको प्रजिअ र उदयपुरका वीरेन्द्र यादवलाई सङ्खुवासभाको प्रजिअमा सरुवा गरिएको छ ।