११ जना पूर्व माओवादी लडाकु पक्राउ - Himal Post Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

११ जना पूर्व माओवादी लडाकु पक्राउ



काठमाडौँ – प्रहरीले ११ जना पूर्वमाओवादी लडाकु पक्राउ गरेको जनाएको छ । आइतबार राजधानीमा शृङ्खलाबद्ध बम विस्फोट भइरहँदा प्रहरीले अनामनगरबाट ११ जना पूर्वमाओवादी लडाकु पक्राउ गरेको हो । गृह मन्त्रालयको ठाडो आदेशमा प्रहरीले आइतबार साँझ साढे ४ बजे ती लडाकुहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई अहिले महानगरीय प्रहरी वृत्त अनामनगरमा राखिएको छ ।

पक्राउ पर्नेमा युवराज विक,  मानबहादुर सहकारी,  ज्ञानबहादुर रोकाय,  प्रेम अधिकारी, निराजन कार्की, बुद्धिमान घर्ती, धर्मानन्द न्यौपाने,  इन्द्रा तामाङ,  शोभा घिमिरे,  वीरबहादुर परियार र जयराम छन् । स्वास्थ्यउपचार र घाइते परिचयपत्र पाउनुपर्ने भन्दै पूर्वलडाकुहरू गत मङ्सिर अन्तिम साता राजधानीको माइतीघरमा १२ दिन अनशन बसेका थिए । ९ पुसमा अनशन तोड्ने क्रममा उनीहरूले सरकारसँग चार बुँदे सहमति गरेका थिए । तर, सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै पूर्वलडाकु आक्रोशित भएका थिए । र, सहमति कार्यान्वयन गराउन भन्दै पूर्वलडाकुहरू काठमाडौँ आएका थिए । यसै क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यसअघि, प्रहरीले गृह मन्त्रालयको मौखिक आदेशबाटै युवराज विकलाई पक्राउ गरेको थियो ।