सभापति देउवालाई गगनको चुनौतीः ‘पेलेर जान खोजे महँगो मूल्य चुकाउनु पर्ने - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

सभापति देउवालाई गगनको चुनौतीः ‘पेलेर जान खोजे महँगो मूल्य चुकाउनु पर्ने



timthumbकाठमाडौँ : नेपाली काँग्रेसका नेता गगन थापाले नेविसंघ महाधिवेशनलाई विधिसम्वत ढङ्गले अघि बढ्न माग गर्ने विद्यार्थीलाई पेलेरै अघि बढ्न खोजे पार्टी सभापति शेरबहादुर देउवाले ठुलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन्। नेविसंघको ११ औँ महाधिवेशनमा सभापति पदका आकांक्षी कुन्दन काफ्ले पक्षधर विद्यार्थीहरूको भेलालाई सम्बोधन गर्दै थापाले पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले नेविसंघ महाधिवेशनमा विधि र विधानलाई मिच्न खोजको आरोप लगाउँदै यस्तो चेतावनी दिएका हुन्।

नेता थापाले भने ‘नेविसंघको वर्तमान नेतृत्वले भने झैँ अधिवेशन सम्पन्न भएको जिल्लाबाट चुनिएर आएका प्रतिनिधिको नाम सार्वजनिक गरियो भने हामी सबैले लाजले मुख छोप्नु पर्ने स्थिति आउँछ।’ नेविसंघ भित्र विधि र प्रक्रियाबाट छानिएका महाधिवेशन प्रतिनिधिलाई मात्र राखेर महाधिवेशन गर्न माग राखेर आमरण अनसन बसेकाप्रति काँग्रेसको वर्तमान नेतृत्वले संवेदनाहिनता प्रस्तुत गरेको थापाको आरोप थियो। ‘विवादरहित ढङ्गले ६४ जिल्लाको अधिवेशन सम्पन्न भएको दाबी नेविसंघ अध्यक्ष रञ्जित कर्णले गरेपनि कुन कलेज कहाँ र कति छन् भन्ने कुरा अन्य विद्यार्थी सङ्गठनलाई पनि थाहा हुन्छ’ थापाले भने ‘हुँदै नभएको कलेजबाट हुँदै नभएको विद्यार्थीलाई कसरी प्रतिनिधि मान्न सकिन्छ ?’ करिब आठ सय जति प्रतिनिधि नक्कली भएको बताउँदै थापाले ६४ जिल्लाका महाधिवेशन प्रतिनिधिको नाममा एक इन्च तलमाथि गर्न मिल्दैन भनेर नामावली सार्वजानिक गर्न चुनौती दिए। थापाले प्रश्न गरे ‘अहिलेको महाधिवेशन प्रतिनिधिको नामावलीमा हस्ताक्षर गरेर महाधिवेशन गर्ने हिम्मत सभापति देउवा, नेता रामचन्द्र पौडेल र नेविसंघ अध्यक्ष कर्णलाई छ?’   ‘राजाले तर्साउँदा नतर्सने विद्यार्थीहरूलाई काँग्रेसका कुनै नेताले तर्साउन खोज्दछन् भने त्यो दिवा सपना मात्र हो’, भेलामा थापाले भने ‘पार्टीको महाधिवेशनमा भोगेको पराजयको कुण्ठा र रोषलाई नेविसंघको महाधिवेशनमा प्रतिशोध साँध्न पाइँदैन।’

सभापतिका आकांक्षी कुन्दनराज काफ्लेले आमरण अनसन बसेर आफ्नो जायज माग पूरा गर्न पार्टी नेतृत्व तयार नभएकोले स्वरूप परिवर्तन गरी आन्दोलन गर्ने निर्णयमा आफूहरु पुगेको बताए। ‘सहमति हुन सक्छ तयार रहनुस्’ भेलामा युवा नेता थापाले पार्टी सभापति शेरबहादुर देउवा दुई/चार दिन बढी लागे पनि नेविसंघको महाधिवेशन गरेरै छाड्ने योजनामा रहेकोले सशक्त तयारी गर्न निर्देशन दिएका छन्। नेता कृष्णप्रसाद सिटौला पक्षधर विद्यार्थीहरूको उक्त भेलामा थापाले सभापति देउवासँगको भेटमा आफूले ६४ जिल्लाका प्रतिनिधिको छानबिन नगरी आफूहरु महाधिवेशनको पक्षमा नरहेको जवाफ दिएको बताए।  देउवाको भनाई उधृत गर्दै थापाले भने ‘दुई/दिन ढिला होस्, बढी पैसा खर्च हुन सक्छ तर कमजोरी सच्याएर भए पनि म महाधिवेशन गराएरै छाड्ने पक्षमा छु।’  सभापति देउवा महाधिवेशन गर्ने पक्षमा रहेको हुनाले प्रत्येक जिल्लाबाट विद्यार्थी राजनीति बुझेका नेता/कार्यकर्तालाई भोलिसम्म काठमाडौँ आइसक्न पनि निर्देशन दिएका छन्। थापाले हरके प्रदेशको जिम्मेवारी सम्हाल्ने गरी नेता पनि तोकेका छन्। आकांक्षी मिलाउने जिम्मा प्रदेश संयोजकलाई भेलाले नेविसंघको महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दिने आकांक्षीलाई मिलाउने जिम्मेवारी प्रदेश संयोजकहरुलाई दिएको छ।

जसअनुसार प्रदेश नम्बर १ मा नेविसंघ पूर्व केन्द्रीय सदस्य भुपेन्द्र राई, प्रदेश नम्बर २ मा पूर्व सहमहामन्त्री इर्साद अन्सारी, प्रदेश नम्बर ३ मा कृष्ण रिजाल (धादिङ), उपत्यकामा सविन तामाङ, प्रदेश नम्बर ४ मा प्रताप पौडेल, प्रदेश नम्बर ५ मा विष्णु पन्थी, प्रदेश नम्बर ६ मा नारायण भट्टराई र प्रदेश नम्बर ७ मा विलबहादुर विष्ट (बैतडी) लाई संयोजक तोकिएको छ। भेलामा सिटौला पक्षधर केन्द्रीय सदस्य उमाकान्त चौधरी, सांसदहरु तारामान गुरुङ, अशोक कोइराला, सुधीर शिवाकोटी, गणेश विमली, अमृतलाल राजवंशी पूर्वमन्त्रीहरु रामकुमार चौधरी, जनकराज गिरी लगायत उपस्थिति थिए।

थाहाखबरबाट