वाम गठबन्धनका शीर्ष नेताद्वारा तीन दिनभित्रमा प्रतिवेदन तयार गर्न कार्यदललाई निर्देशन - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

वाम गठबन्धनका शीर्ष नेताद्वारा तीन दिनभित्रमा प्रतिवेदन तयार गर्न कार्यदललाई निर्देशन



असोज १९ – नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताले वाम गठबन्धनका प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्र निर्धारण कार्यदललाई तीन दिनभित्रमा प्रतिवेदन तयार गर्न निर्देशन दिनुभएको छ ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपाल पार्टीबिच चुनावी तालमेल र पार्टी एकीकरणबारे मंगलबार समझदारी भएको थियो । त्यहीअनुरूप क्षेत्र निर्धारण र घोषणापत्र तयार गर्न बुधबार दुईवटा कार्यदल गठन गरिएको थियो ।

सिंहदरबारमा रहेको एमाले संसदीय दलको कार्यालयमा बिहीबार बसेको क्षेत्र निर्धारण र संयुक्त घोषणापत्र तयार गर्न गठित दुईवटै कार्यदलको प्रथम संयुक्त बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेताले सात दिनभित्रमा घोषणापत्रको मस्यौदा तयार गर्न निर्देशन दिनुभएको हो । संविधान, लोकतन्त्र, सामाजिक न्यायलगायतका अन्य विषयलाई समेत सम्बोधन गरेर घोषणापत्र तयार गर्न शीर्ष नेताहरूले निर्देशन गर्नुभएको नेता गंगा श्रेष्ठले जानकारी दिनुभयो ।

समितिमा एमालेको तर्फबाट नेताहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे, माओवादी केन्द्रको तर्फबाट वरिष्ठ नेता रामबहादुर थापा, नेताहरू वर्षमान पुन र मातृका यादव तथा नयाँ शक्ति पार्टीका तर्फबाट नेता गंगा श्रेष्ठ रहनुभएको छ ।

सहमति अनुसार समितिलाई ६० प्रतिशत एमाले र ४० प्रतिशत माओवादी केन्द्र हुने गरी प्रत्यक्षतर्फको उम्मेदवार चयन गर्ने जिम्मेवारी दिइएको छ । त्यसैगरी संयुक्त चुनाव घोषणापत्र मस्यौदा बनाउन गठित कार्यदलमा एमालेबाट उपाध्यक्ष वामदेव गौतम, भीम रावल, प्रदीप ज्ञवाली, माओवादी केन्द्रबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, देव गुरुङ, विश्वभक्त दुलाल तथा नयाँ शक्ति पार्टीका डम्बर खतिवडा र डा लक्ष्मी देवकोटा हुनुहुन्छ ।