रोल्पालाई ५ नं बाट अलग्याउन लागेकोमा विरोध - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

रोल्पालाई ५ नं बाट अलग्याउन लागेकोमा विरोध



हिमाल पोष्ट / रोल्पा, ८ मङ्सिर । प्रस्तावित ५ नं प्रदेशबाट पहाडी जिल्ला छुट्याउने गरी संविधान संशोधन हुन लागेको भन्दै रोल्पामा मंगलबार विरोध प्रदर्शन गरिएको छ ।

सर्वदलीय तथा सर्वपक्षीय सरोकारवालाको आयोजनामा भएको प्रदर्शनमा ‘ऐतिहासिक परिवर्तनमा रोल्पाले खेलेको भूमिकाको सम्मान गर, ५ नं प्रदेशवाट पहाडी जिल्ला छुट्याउन पाइँदैन, ५ नं प्रदेशका जनताको एकता जिन्दावाद’ लगायतका नारासहित सदरमुकाम लिवाङमा नगर परिक्रमा गरिएको थियो ।

विरोध सभामा नेपाली काँग्रेस, रोल्पाका सभापतिसमेत रहेका सांसद अमरसिंह पुनमगर, नेकपा (एमाले) रोल्पाका अध्यक्ष हरिप्रसाद घर्तिमगर लगायतले ५ नं प्रदेशबाट रोल्पालाई छुट्याउने कार्य भए थप सशक्त आन्दोलनमा उत्रन जनतालाई आह्वान गरेका थिए ।

सरकारले मधेसकेन्द्रित दलको माग सम्बोधन गर्ने भन्दै संविधान संशोधनमार्फत ५ नं प्रदेशका पहाडी जिल्ला हटाउन लागेको भन्दै रोल्पाली आन्दोलनमा उत्रिएका हुन् । आजपनि सर्वदलीय सर्वपक्षीय बैठक बसी थप आन्दोलनका कार्यक्रम घोषणा गर्न लागिएको रोल्पा उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष विश्वकुमार चन्दले बताउनुभयो । रासस