दलितसंग भागेकी छोरी बोलाएर धुमधाम कन्यादान (फोटो फिचरसहित) - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

दलितसंग भागेकी छोरी बोलाएर धुमधाम कन्यादान (फोटो फिचरसहित)



srijana-dhurba-intercast-marriage-gulmi-2

गुल्मी, ९ कात्तिक । अचेल समाज परिवर्तन हुन थालेको संकेत भर्खरै गुल्मीमा भएको एक अन्तरजातीय विहेबाट देखिएको छ । यहाँ पाल्पाको एक श्रेष्ठ परिवारले दलितसंग भागेकी आफ्नी छोरीलाई घर बोलाएर बिधिवत रुपमा कन्यादान गरिदिएका छन् ।

पाल्पाको अर्गेलीकी श्रेष्ठ परिवारकी छोरी सिर्जनाले गुल्मीको सदरमुकाम रेसुङ्गा नगरपालिका १० उपल्लो तम्घासका ध्रुव सुनारसंग भागी विवाह गरेकी थिईन् । परिवारसंग सल्लाह गरेर अन्तरजातीय बिबाह गरिदेलान भन्ने कल्पनामा पनि नसोँचेकोले उनीहरु भागेर बिबाह गरे । तर, उनीहरुको सोँच त्यतिबेला गलत सावित भयो जतिबेला सिर्जनाका माईतीले विधिवत विवाहको प्रस्ताव राख्यो । सुरुमा उनीहरु भागे पनि कतिपय अन्य परिवारको जस्तै सधैका लागि भाग्न र बहिस्कृत हुन परेन् । उनीहरुले जिल्लामै नमुना अन्तरजातिय विवाह गरेर देखाइदिए ।

srijana-dhurba-intercast-marriage-gulmi-1

श्रेष्ठ परिवारको प्रस्तावपछि सदरमुकामका सम्पन्न परिवारमा गनिएका सुनार जन्तिसहित बेहुला बेहुली बेहुलीको माईतीमा पुगे । चिल्लो कारमा चढेका दलित परिवारका बेहुला र बसभरी चढेका उनका सुकिला मुकिला जन्तीलाई धुमधाम स्वागत गरे अर्गेलीका श्रेष्ठ परिवारले ।

अनि विधिवत रुपमा बरमाला पहिर्याएर बिबाह सम्पन्न भयो । बिबाहपछि पनि श्रेष्ठ परिवारले कुनै दर दाजुभाइबाट कुल निकालाको धम्की सुन्नु परेन । आफन्तजनबाट पानी बाराबारको तुच्छ बचन सुन्न परेन । सबै एक मत थिए ।

srijana-dhurba-intercast-marriage-gulmi-3

बिबाहमा जन्तिको रुपमा पुगेका पत्रकार प्रेम सुनारका अनुसार गुल्मीबाट गएका पुरै दलित समुदायका जन्तीहरुलाई पर्छिनका लागि श्रेष्ठ परिवार स्वागत गर्न रिडीको पुलसम्म पुगेका थिए । ‘श्रेष्ठ परिवारको घरै अगाडी आई पुग्दा सिर्जनाका दाजु र भाउजु, दिदी वहिनीहरु जन्ती पर्छिन आई पुगे, जन्ती पर्छिए लगत्तै वेहुला वेहुलीलाई हातमा समातेर घरको ढोका अगाडी सजाईएको विवाह मण्डमा लगेर उभ्याउँदै उनीहरुको पाउ वरीपरी आम्खराको जलले पुज्दै विधिवत विवाह र टिकाटाला सुरु गरियो,’ सुनारले भने ‘श्रेष्ठ परिवारका सवै सदस्य र उनीहरुका आफन्तजनले टिका टालामा कत्ति पनि संकुचन नराखेर उच्च स्वागत सत्कारका साथ जन्ती बटाए ।’

बिबाहमा दुलाहाको बाबुआमा र दुलहीको बाबुआमाले गर्ने सम्देलो पनि धुमधाम गरीयो । ‘सम्धेलो गर्न सिर्जनाकी आमा सुरुमा पुगिन र सम्धीना अम्विका सुनारलाई बाँजोडेर चिनो साटा साट गरिन्,’ सुनारले भने– ‘उनका श्रीमानको मृत्यु भइसकेकाले सम्धी टोपबहादुर सुनारलाई पनि उनी र उनका जेठा छोराले औठी लगाई दिएर सम्धेलो गरे ।’ उक्त दृश्य नियाल्न मानिसहरुको घुईचो थियो ।

समाजमा अहिले दलित परिवारका विवाहमा दलित र गैरदलितलाई छुट्टाछुट्टै भोज भतेरको व्यवस्था गरिएको हुन्छ तर श्रेष्ठ परिवारले भने सामुहिक भतेरको व्यवस्था मिलाएका थियो ।

srijana-dhurba-intercast-marriage-gulmi-5

जिल्लामा यस्तो विवाह पहिलो पटक भएको जन्ती र यस जिल्लाका दलित अधिकारकर्मीहरुले बताए । वेहुलाका भिनाजुको हैसियतबाट जन्ती गएका नेपाल दलित संघका जिल्ला अध्यक्ष झविन्द्र बिकले उक्त विवाह अहिले सम्मकै उदाहरणीय विवाह भएको बताए । रिडी नै घर भएका त्यस विवाहमा शरिक नेकपा एमालेका अगुवा कार्यकर्ता रामलाल बिकले यस्ता विवाहरु हुँदै जान थाले जातिय विभेद स्वतः हट्ने प्रतिकृया दिए ।

सुनार परिवार तम्घासका पुर्खेयौली देखि खानदानी परिवार मानिन्छन् । उनीहरु सदरमुकाम तम्घासका पुराना सुनचाँदी व्यवसायी पनि हुन् । सिर्जनाका माइतीजन पनि प्रतिष्ठीत परिवारका हुन् ।

srijana-dhurba-intercast-marriage-gulmisrijana-dhurba-intercast-marriage-gulmi-34

(यो सामग्री नारी खबरबाट साभार गरिएको हो ।)