कांग्रेस नेता गच्छदार र रेशम चौधरीबीच भेटवार्ता, सहकार्यका लागि तयार - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

कांग्रेस नेता गच्छदार र रेशम चौधरीबीच भेटवार्ता, सहकार्यका लागि तयार



नेपाली कांग्रेसका नेता विजय कुमार गच्छदार र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ। डिल्लीबजार कारागारमा आज उनीहरूबीच करिब एक घन्टा छलफल भएको हो। मंसिर ४ गतेको निर्वाचनमा अप्रत्यासित नतिजा ल्याएपछि रेशमलाई बधाइ दिन गच्छदार जेल पुगेका हुन्। उनले रेशमलाई भेटेर सोचेभन्दा परिपक्व भएको बताए। उनले रेशम चौधरीसँग सहकार्यका लागि आफू तयार रहेको समेत बताएका थिए।

उनले थारू छोरालाई जेलमा कोचेको भन्दै सरकारसँग आपत्तिसमेत जनाए। उनले अध्यादेश प्रमाणीकरण गरेर पीडित थारूहरूको रिहाइ गर्नुपर्ने बताएका थिए। त्यसका लागि माइतीघर मण्डलामा धर्नामा बस्न आफू तयार रहेको उनले बताएका थिए।

उनले उत्पीडित थारूको उत्थानका लागि आफू अग्रसर हुने बताए । उनीहरूबीच सत्तासमीकरणको विषयमा पनि छलफल भएको थियो। पछिल्लो समय नेपाली कांग्रेसका नेताहरू रेशमसँग निरन्तर सम्बादमा छन्। लुम्बिनी प्रदेशमा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले थारू नेताहरूमार्फत् रेशमसँग लबिङ गरिरहेका छन्।

नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभामा एक स्वतन्त्रसहित चार, सुदूरपश्चिम प्रदेशमा ७, लुम्बिनीमा ४ र मधेस प्रदेशमा एक सिट जितेको छ।