आफैलाई मतदान गर्न नपाउने उम्मेदवार - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

आफैलाई मतदान गर्न नपाउने उम्मेदवार



काठमाडौं-

संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दुई निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिन पाइँदैन ।  यसअघि दुई स्थानबाट उम्मेदवारी दिने अधिकांश शीर्ष नेताले यस पटक एक निर्वाचन क्षेत्रबाट मात्रै उम्मेदवारी दिएका छन् ।

कतिपय नेता आफ्नो गृह जिल्ला र क्षेत्रभन्दा बाहिरबाट चुनावमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ  ।  निर्वाचन क्षेत्रबाट बाहिर गएर स्पर्धा गर्ने उम्मेदवारले भने आफ्ना लागि आफ्नो मत प्रयोग गर्न पाउनुहुन्न ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली गएको स्थानीय निर्वाचनअघि सधैँ झापामा मतदाता हुनुहुन्थ्यो ।  स्थानीय निर्वाचनअघि उहाँले मतदाता नामावली भक्तपुरमा सार्नुभएको हो ।  ओलीले सूर्यविनायक नगरपालिकामा मतदाता नामावली सार्नुभएको छ ।  तर, ओली झापा ५ बाट चुनावी मैदानमा हुनुहुन्छ ।  उहाँले यस पटक आफैले आफैलाई मत दिन पाउनुहुन्न ।

एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल रौतहटको गौर नगरपालिकामा मतदाता हुनुहुन्छ ।  तर, उहाँ पनि काठमाडौँ २ बाट उम्मेदवार हुनुहुन्छ ।  नेता नेपालले पनि प्रतिनिधिसभा निर्वाचनमा आफैँलाई मत दिन नपाउने नेतामा पर्नुहुन्छ ।

काठमाडौँ १ बाट निर्वाचनमा प्रतिस्पर्धा गर्न लाग्नुभएका नेकपा माओवादी केन्द्रका युवा नेता अनिल शर्माको मतदाता नामावली रुकुममा छ ।  तर, शर्मा काठमाडौँको चुनावी मैदानमा हुनुहुन्छ ।

शर्माले आफ्नो मतदाता नामावली गृह जिल्लामै कायम रहेको बताउनुभयो ।  उहाँले पनि आफूलाई मत दिन पाउनुहुन्न ।, यो खबर आजको गोरखापत्रमा छ ।