अनुसन्धानमूलक शिक्षा वर्तमानको आवश्यकता - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

अनुसन्धानमूलक शिक्षा वर्तमानको आवश्यकता



पोखरा, पुस १४ गते । पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रको अग्रसरतामा विश्वविद्यालयद्वारा बुधबार पोखरामा आयोजित सम्बन्धन प्राप्त महाविद्यालयका प्राचार्य तथा प्रतिनिधिसँगको अन्तरक्रियामा समयसापेक्ष अनुसन्धानमूलक शिक्षा वर्तमानको आवश्यकता भएकामा जोड दिइएको छ ।

गुणस्तरीय शिक्षाका लागि अनुसन्धानमूलक शिक्षा अपरिहार्य हुने बताउँदै अन्तरक्रियामा वक्ताले अनुसन्धानमूलक शिक्षाका माध्यमबाट मात्र शैक्षिक क्षेत्रमा गुणस्तरीयता कायम गर्न सकिने उल्लेख गर्नुभयो । पोखरा विश्वविद्यालयका उपकुलपति प्रा चिरञ्जीवीप्रसाद शर्माले गुणस्तरीय उच्च शिक्षाका लागि अनुसन्धान कार्य महत्वपूर्ण हुने बताउँदै विश्वविद्यालयका प्राध्यापकले अनुसन्धान कार्यलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उहाँले विश्वविद्यालयको शिक्षा अनुसन्धानमा आधारित हुनुपर्नेमा जोड दिँदै राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रुपमा शिक्षाको गुणस्तरीयता कायम गराउनका लागि पनि अनुसन्धानमूलक शिक्षा अपरिहार्य भएको उल्लेख गर्नुभयो ।

विश्वविद्यालयका रजिस्ट्रार गोविन्दप्रसाद शर्माले पठनपाठन र अनुसन्धनात्मक कार्यलाई सँगसँगै लैजानुपर्ने बताउनुभयो । मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डिन प्राडा इन्द्रप्रसाद तिवारीले पोखरा विश्वविद्यालय स्थापनाको उद्देश्य, वर्तमान अवस्था र रणनीतिक कार्य योजनाका सम्बन्धमा प्रकाश पार्दै समयसापेक्ष शिक्षाको गुणस्तरीयता अभिवृद्धि गर्दै विश्वविद्यालय अघि बढेको बताउनुभयो ।

विश्वविद्यालयका डिनहरू डा कर्णवीर पौडेल, डा खेमराज जोशी र इन्जिनियर बुद्धिराज जोशीले सङ्कायगत रूपमा विश्वविद्यालयको शिक्षाको रूपरेखा सम्बन्धमा जानकारी गराउनुभएको थियो । पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सहप्राध्यापक गुलाम मोहम्मदखाले सम्बन्धन प्राप्त महाविद्यालयलाई अनुसन्धान कार्यमा आबद्ध गर्ने विषयमा चालिएका कदम बारेमा प्रकाश पार्नुभएको थियो ।

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक सहप्राध्यापक राजेशकुमार ठगुराठी, अन्तर्राष्ट्रिय केन्द्रका कार्यकारी निर्देशक उपप्राध्यापक टेकबहादुर क्षेत्री तथा योजना तथा कार्यक्रम महाशाखा प्रमुख सहप्राध्यापक ज्ञानेश्वर शर्माले आ–आफ्नो कार्य क्षेत्रसँग सम्बन्धित विषयमा जानकारी दिनुभयो ।

पोखरा विश्वविद्यालय सम्बन्धन प्राप्त महाविद्यालयको साझा संस्था ओपेनका अध्यक्ष प्राचार्य रामचन्द्र आचार्य, पोखरा इन्जिनियरिङ कलेजका प्राचार्य ई लेखबहादुर गुरुङ, नोबेल कलेज, काठमाडौँका सञ्चालक नवराज पाण्डेलगायतले विश्वविद्यालयको परीक्षा प्रणाली, छात्रवृत्ति, अनुसन्धान, सम्बन्धन आदिका सम्बन्धमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।

विश्वविद्यालयका सूचना अधिकृत लोकप्रसाद ढकालका अनुसार अन्तरक्रियामा विश्वविद्यालयका सम्बन्धन प्राप्त कलेजका प्राचार्य तथा प्रतिनिधिको सहभागिता रहेको थियो । रासस