संसद्को सार्वजनिक लेखा समितिको सभापति चयन आउँदो पुस २७ गते हुने - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

संसद्को सार्वजनिक लेखा समितिको सभापति चयन आउँदो पुस २७ गते हुने



काठमाडौँ, पुस २३ गते ।  संसद्को सार्वजनिक लेखा समितिको सभापति चयन आउँदो पुस २७ गते हुने भएको छ ।  सभापतिविहीन भएको पाँच महिनापछि समिति सभापति चयनको प्रक्रिया अगाडि बढेको हो ।  संसद् सचिवालयले पुस २७ गते सभापति चयन गर्नेगरी चुनावी कार्यतालिका शुक्रबार प्रकाशन गरेको छ ।

प्रकाशित कार्यतालिका अनुसार पुस २५ र २६ गते प्रस्तावक र समर्थकसहित मनोनयन दर्ता गर्नुपर्नेछ ।  उम्मेदवारको रोलक्रम अनुसार सूची प्रकाशन पनि पुस २६ गते नै हुनेछ ।  एकभन्दा बढी उम्मेदवार नपरेको अवस्थामा एकल दावेदार स्वतः सभापतिमा चयन हुन सक्ने संसद् कार्यसञ्चालन नियमावलीको प्रावधान छ ।  एकभन्दा बढी उम्मेदवारी परेको अवस्थामा पुस २७ गते निर्वाचनबाट सभापति चयन हुनेछ ।  पुस २७ गते बिहान ११ बजे समिति बैठक बोलाइएको छ ।

संसद्को सार्वजनिक लेखा समिति र महाभियोग सिफारिस समितिको सभापति पुस २५ गते चयन गर्नेगरी संसद् सचिवालयले कार्यतालिकाको तयारी गरेको छ ।  सचिवालयले औपचारिक रूपमा कार्यतालिका प्रकाशन नगरे पनि २४ घन्टाअघि सूचना दिनुपर्ने नियमावलीको व्यवस्था अनुसार २५ गते सभापति चयन गर्नेगरी कार्यतालिका तयार पारेको हो ।

सभामुख ओनसरी घर्तीले मङ्गलबार सभापति चयन कार्यतालिका सार्वजनिक गर्न सचिवालयलाई निर्देशन दिनुभएको थियो ।  सभामुखको निर्देशन अनुसार सचिवालयले आन्तरिक कार्यतालिका सार्वजनिक गरेको हो ।

तत्कालीन सभापति जनार्दन शर्मा मन्त्री हुनु भएपछि लेखा समिति सभापतिविहीन छ ।  यस्तै, महाभियोग सिफारिस समिति गठन भए पनि सभापति चयन हुन सकेको छैन ।  ज्येष्ठ सदस्यले बैठक सञ्चालन गरिरहनुभएको छ ।