महाकाली नदी थुनिन थाल्यो, दार्चुला सदरमुकाम डुबानमा पर्ने सम्भावना - Himal Post Himal Post
  • ८ आश्विन २०८०, सोमबार
  •      Mon Sep 25 2023
Logo

महाकाली नदी थुनिन थाल्यो, दार्चुला सदरमुकाम डुबानमा पर्ने सम्भावना



बैतडी, असोज ३० । भारतको धारचुला खोतिलमा गएको सुक्खा पहिरोले महाकाली नदी थुन्न थालेपछि दार्चुला सदरमुकामवासी डुबानको खतरामा परेका छन् ।

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले दिएको जानकारीअनुसार उक्त क्षेत्रमा खसेको पहिरोले महाकाली थुन्न थालेको हो । ‘महाकाली नदी पहिरोले साघुरिँदै गएको छ,’ उनले भने, ‘माथिबाट ठूलो पहाड खसिराखेको छ, पन्छाउन समेत भ्याएको छैन ।’

सुरुमा असोज १८ गते खसेको पहिरोले नदीको केही भाग अवरुद्ध भएको भएपनि थप पहिरो खस्दा नदी थुनिने सम्भावना बढेकोे उनले बताए ।

‘तत्काललाई खतरा नभए पनि खतरामुक्त भइसकेको छैन,’ प्रमुख जिल्ला अधिकारी जोशीले भने, ‘पहिरोले नदीको पानीलाई नेपालतिर धकेल्दै आएको छ ।’

बिहान, दिउँसो र बेलुकासमेत आफूले पहिरोको अनुगमन गरेको बताउँदै प्रजिअ जोशीले पहिरोले नदीको पानी पूर्ण अवरुद्ध भयो भने खतरा उत्पन्न हुनसक्ने र त्यसका लागि सीमावर्ती बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको बताए ।

नेपाली सेनाको खलङ्गामा रहेको दुर्गा दल गुल्मले शुक्रबार रातिदेखि सेनाले निरन्तर पहिरोलाई निरीक्षण गरिरहेको र सम्भावित समस्यालाई कसरी टार्ने भन्ने सम्बन्धमा पनि तयारी नेपाली सेनाले गरिरहेको उनले बताए ।

भारतको धारचुलाका उपजिल्ला अधिकारी, प्राविधिक, दार्चुलाका प्रमुख जिल्ला अधिकारी लगायतले पहिरोको अनुगमन गरेको र आइतबार थप अनुगमन गरिने बताइएको छ । (रासस)