बोइलरले विस्थापन हुन थाले लाेकल कुखुरा - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

बोइलरले विस्थापन हुन थाले लाेकल कुखुरा



कालीकोट, पुस १६ गते । जिल्लामा सडक सञ्जाल जोडिएसँगै स्थानीय जातका कुखुरा लोप हुनथालेका छन् ।

पहिले पहिले दलित वर्गले मात्र पाल्ने भनिएको कुखुरापालन पछिल्लो समयमा ग्रामीण क्षेत्रका साथै बजार क्षेत्रमा बोइलर कुखुरापालन बढ्न थालेपछि स्थानीय जातका कुखुरामा कमी आउन थालेका छन् ।

सुगम ठाउँमा मात्रै होइन, दुर्गम ग्रामीण क्षेत्रमासमेत बोइलर कुखुराको चल्ला ल्याएर पालन थालेपछि स्थानीय जातमा ह्रास आएको छ ।
स्थानीय जातका कुखुरा महँगो पर्नुकासाथै हुर्कनका लागि समय लाग्ने भएकाले बोइलर कुखुरा पालनप्रति किसानको आकर्षण बढेको छ । छिटो हुर्कने र सस्तो हुने भएकाले बोइलर कुखुराको माग बढ्न थालेकाले स्थानीय जातको कुखुरामा कमि आएको मान्म– ५ का कुखुरापालक मनिकेश आचार्यले बताउनुभयो ।

उहाँले स्थानीय जात भन्दा बोइलर कुखुरा दुई महिनाभित्र बजारमा लिएर आउने र बिक्री भएर आम्दानी हातमापर्ने भएकाले स्थानीय जात हराउन थालेको बताउनुभयो । स्थानीय जातको कुखुराको माग अत्यधिक बृद्धि हुन थालेपछि अब त्यो जातको कुखुरा पनि पालन तयारी गरेको बताउनुभयो ।

जिल्लामा बढ्दो मासुको मागसँगै खसी बोकाका साथ कुखुरापालनमा तीव्रता आएको जिल्ला पशुसेवा कार्यलय कालीकोटले जनाएको छ ।

जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशुसेवा कार्यालय, ग्रामीण विकास नेपाल, सेडा नेपाल, भिडिसेफलगायतका निकायले महिला तथा कृषकलाई कुखुरापालन भन्दै दिएका कुखुरा केवल हुर्काउनसम्म मात्र सीमित हुने गरेको सिपखानाका हंसराज न्यौपाने बताए ।

कालीकोट जिल्लामा साना किसानले आम्दानीका लागि विभिन्न व्यवसाय सञ्चालनमा आएर आत्मनिर्भर तर्फ उन्मुख हुन थालेकाले सरोकारवाला निकायले तिनीहरुलाई विभिन्न सेवाका साथै आवश्याक सहयोगका लागि पहल गर्नुपर्ने जिल्ला सहकारी सङ्घ कालीकोटका अध्यक्ष कालीबहादुर महताराले बताउनुभयो । रासस