बुटवल मण्डप दिनभर दर्शकहरुको भिडले भरियो - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

बुटवल मण्डप दिनभर दर्शकहरुको भिडले भरियो



हिमाल पोष्ट / बुटवल, १५ पुस । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवलमा जारी औद्योगिक व्यापार मेलामा दर्शक सहभागिता बढदै गएको छ ।
आज ल्होसारको सार्वजनिक बिदा भएकाले पनि बिहानदेखि साझसम्म मेलास्थल बुटवलमण्डपमा दर्शकहरुको निकै भिड रहेको थियो ।

दर्शकहरुको भिड भएपछी मेलास्थलमा बनाइएको २ वटा आकस्मिक बाहिर निस्कने द्वार खुल्ला गरिएको थियो । सार्बजनिक बिदालाई लक्ष्यित गरी आज मेलास्थलका अलवा बुटवलको राजमार्ग चौराहा मिलनचोक, गोलपार्क, योगिकुटी र होराइजनचोकबाट पनि टिकट बिक्रीको व्यवस्था गरिएको थियो ।

दर्शक बढेसंगै मेलामा कारोवार समेत उल्लेख्य भएको छ । बिभिन्न स्टलमा राखिएका सामान समेत सकिएपछी स्टलधनिले शनिवारका लागि थप सामान मगाएका छन ।

मेलामा शुक्रवारदेखि राउटेको कला प्रर्दशन सुरु भएको छ । राउटेले काठका कलात्मक सामानसहित बिभिन्न प्रस्तुती मेलामा सुरु गरेका छन ।

मेलामा दर्शकहरुको भिडबढी भएपछी आज आयोजना गर्ने भनिएको दुग्धपान प्रतियोगिता ठाउ अभावमा स्थगित गरिएको छ । दुग्धपान प्रतियोगिता सकेसम्म भोली शनिवार र नभए पर्सी आइतवार गरीने मेलाका उपसंयोजक तथा संघका उद्योग उपााध्यक्ष अनिल प्रसाद श्रेष्ठले जानकारी दिनु भयो ।

मेलामा आज आमा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । सिद्धिबिनायक फुड प्रोडक्टको प्रायोजनमा भएको प्रतियोगितामा सबिता गुरुङ्ग प्रथम, दुर्गा थापा छन्त्याल द्धितिय र पुनम गुरुङ्ग तृतीय हुनु भएको छ । प्रतियोगिताका बिजयीहरुलाई क्रमश ७ हजार, ५ हजार र ३ हजार रुपैया नगद सहित पुरस्कृत गरिएको थियो निकै रोमाञ्चक प्रतियोगितामा १२ आमाले भाग लिएका थिए ।

मेलामा भोली युगल नृत्य प्रतियोगिता हुने छ ।