प्रस्ताव संसद्मा प्रवेश गराएर छलफल गर्न लायक छैन : ओली - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

प्रस्ताव संसद्मा प्रवेश गराएर छलफल गर्न लायक छैन : ओली



हिमाल पोष्ट / काठमाडौँ, १० पुस । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव संसद्मा प्रवेशका लागि उपयुक्त नभएकाले पेस गर्न नदिएको बताउनुभएको छ ।

आज प्रतिपक्षी नौ दलले आन्दोलनका सन्दर्भमा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजना भएको पत्रकार भेटघाट कार्यक्रममा उहाँले संशोधन प्रस्तावमा भएका कुरा राष्ट्रि«य हित विपरीत र असंवैधानिक भएकाले संसद्मा प्रवेश गराएर छलफल गर्न नदिएको बताउनुभयो ।

“संविधानले नै कतिपय कुरालाई निषेध गरेको छ । प्रस्तावमा राष्ट्रिय अखण्डता, सार्वभौमसत्तालगायत संविधानले निषेध गरेका कुरा छन्”– उहाँले भन्नुभयो । अध्यक्ष ओलीले संसद्को मर्यादा र गरिमालाई उच्च राख्नुपर्ने भन्दै संसद्मा जे पनि ल्याएर छलफल गर्न नमिल्ने धारणा राख्नुभयो । “संसद्को छलफलमा के ल्याउन पाइन्छ के पाइँदैन भन्ने स्पष्ट व्यवस्था छ”– उहाँले थप्नुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले देशको अस्तित्व र अखण्डतामा प्रश्न उठाउने विषयमा संसद्मा छलफल गर्न नपाइने बताउनुभयो ।

उहाँले देशमा समझदारी र सहमतिको वातावरण बनाउन आफूहरु तयार रहेको बताउँदै प्रतिपक्षलाई सरकारले जनतासमक्ष राजनीतिक कुरा गर्न जान नदिएको आरोप लगाउनुभयो । “हामीलाई जिल्ला र तराईमा कार्यक्रम गर्न दिइएको छैन”– उहाँले भन्नुभयो, “हामीमाथि निषेधको राजनीतिक गरिँदैछ । सरकार आफँै उत्तेजक ढङ्गले प्रस्तुत भएको छ ।”

उहाँले प्रधानमन्त्री स्थानीय पुनःसंरचना आयोगले तयार पारेको प्रतिवेदन नबुझेर स्थानीय चुनाव नगर्न चाहेको धारणा राख्नुभयो । उहाँले आफू निर्वाचनको पक्षमा रहेको बताउँदै चाँडै चुनावको मिति घोषणा गर्न माग राख्नुभयो ।

कार्यक्रममा एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले तीन केन्द्र, प्रदेश र स्थानीय तहको निर्वाचन गर्नुको सट्टा देशलाई अनिश्चिततिर डो¥याउन सरकारले संशोधनको प्रस्ताव ल्याएको बताउनुभयो ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले विदेशीको निर्देशनमा संशोधन प्रस्ताव आएकाले प्रस्ताव फिर्ता नहुजेलसम्म संसद् चल्न नदिने धारणा राख्नुभयो ।

कार्यक्रममा नेकपा (माले)का महासचिव सिपी मैनालीसहित विपक्षी गठबन्धन आबद्ध राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक), बहुजन शक्ति पार्टी, नेवाः राष्ट्रिय पार्टी र मधेस समता पार्टी नेपालका नेता उपस्थित हुनुहुन्थ्यो ।