पूर्व आइजिपी अर्याल अख्तियारको फन्दामा - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

पूर्व आइजिपी अर्याल अख्तियारको फन्दामा



काठमाडौं

पूर्व प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ। उनलाई अकुत सम्पति आर्जनको अभियोगमा अनुसन्धान सुरु गरिएको हो।

पदको दुरुपयोग गर्दै अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले अर्याललाई एक साताअघि नै १३ पाने फारम भराएको अख्तियार उच्च स्रोतले जनाएको छ।

‘महानिरीक्षक हुँदा गाडी तथा प्रहरीको कपडा खरिदमा अनियमितता गरेको आरोपमा उनिसँग अख्तियारले बयान लिन सुरु गरेको बताइएको छ ।

सम्पत्ति मूल्यांकन तथा अनुसन्धान सम्बन्धी अख्तियारको निर्देशिका अनुसार अकुत सम्पत्ति आर्जन गर्ने व्यक्तिलाई अख्तियारले १३ पाने भराउँछ । चार खण्ड हुने १३ पानेको खण्ड १ मा व्यक्तिगत र पारिवारिक विवरण हुन्छ । यस्तै, खण्ड २ मा सार्वजनिक पद धारण गरेको विवरण, खण्ड ३ मा अचल सम्पत्तिको विवरण र खण्ड ४ मा चल सम्पत्तिको विवरण हुन्छ।

आयोगले त्यसमा व्यक्तिले हालसम्म आर्जेको सम्पूर्ण सम्पत्तिको विवरण संलग्न गराएर अनुसन्धान सुरु गर्छ । अर्यालले आर्जन गरेको सम्पत्ति अस्वाभाविक देखिएकाले १३ पाने मार्फत उनको विवरण अख्तियारले प्राप्त गरेको छ । उनलाई आइतबार नै बयानका लागि बोलाइएको हो।