परीक्षामा सहभागी विषयको मात्रै प्रमाणपत्र - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

परीक्षामा सहभागी विषयको मात्रै प्रमाणपत्र



हिमाल पोस्ट / काठमाडौं २५ कात्तिक,
कक्षा ८, १० र १२ का विद्यार्थीले परीक्षा दिएका विषयको मात्र प्रमाणपत्र पाउने व्यवस्था सुरु गरिने भएको छ । शिक्षा मन्त्रालयले विद्यालय क्षेत्र विकास योजना (एसएसडीपी) कार्यान्वयनमा ल्याएर एकल विषय प्रमाणपत्रको व्यवस्था गर्न लागेको हो ।

मन्त्रालयका सहसचिव डा. हरि लम्सालले विद्यार्थीले परीक्षा दिएको विषयको मात्र प्रमाणपत्र पाउनुपर्ने र यस्तो अभ्यास विश्वमा भएको बताए । उनले यस बारेमा कानुनमा व्याख्या हुने बताए ।

विद्यार्थीलाई कुनै विषयमा उत्तीर्ण भएको प्रमाणपत्र चाहिएमा ती विषयको मात्र परीक्षामा सम्मिलित भइ प्राप्ताङ्क उल्लेख भएको प्रमाणपत्र परीक्षा नियन्त्रण कार्यालयले प्रदान गर्नेछ । २०५९ सालमा शिक्षा नियमावली संशोधन गर्दा कक्षा ८ मा विषयगत उत्तीर्ण पद्धति (सब्जेक्ट वाइज पास सिस्टम) अवलम्बन गरी जतिवटा विषयमा विद्यार्थी उत्तीर्ण भएको हुन्छ त्यतिवटा विषयको मात्र प्रमाणपत्र दिने व्यवस्था गरिएको थियो ।
यो व्यवस्था लागू भने हुन सकेन । कतिपय मुलुकमा तोकिएका मुख्य विषयमा उत्तीर्ण भए पुग्ने तर अन्य विषयमा अनुत्तीर्ण भए पनि उत्तीर्ण भएको भनी प्रमाणपत्र दिने अभ्यास छ ।

मन्त्रालयका सहसचिव डा. लम्सालले तोकिएका निश्चित विषयमा उत्तीर्ण भएपछि ती तह उत्तीर्ण भएको भनी प्रमाणपत्र दिनका लागि समस्या नहुने बताउँदै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन त्यति सहज नभएको बताएको आजको गोरखापत्रमा समाचार छ ।

केही वर्षअघि एसएलसी परीक्षा सुधारसम्बन्धी सुझाव दिन गठित कार्यदलले एसएलसी परीक्षामा अनुत्तीर्ण हुनेको दर घटाउन अनिवार्य पाँच विषयमा उत्तीर्ण भएका विद्यार्थीलाई उत्तीर्ण भएको प्रमाणपत्र दिनुपर्ने सिफारिस गरेको थियो ।