नयाँ प्रमूख आएपछि जिशिकाको समस्या समाधान - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

नयाँ प्रमूख आएपछि जिशिकाको समस्या समाधान



उदयपुर, माघ १२ गते । तीन महिनादेखि तनावग्रस्त बन्दै आएको जिल्ला शिक्षा कार्यालय उदयपुरले नयाँ निमित्त प्रमुख जिल्ला शिक्षा अधिकारी पाएपछि जिल्ला शिक्षा कार्यालय र जिल्लाका सम्पूर्ण शिक्षक सङ्घसङ्गठनको समस्या समाधान भएको छ ।

जिल्ला शिक्षा अधिकारी दिलीप ठाकुरले जिल्ला शिक्षा कार्यालयमा भ्रष्टाचार गरेको आरोपसहित तीन महिनादेखि जिल्लाका सम्पूर्ण शिक्षक सङ्घ तथा सङ्गठनले जिशिअ ठाकुरविरुद्ध ठाकुर हटाउ आन्दोलन गर्दै आएका थिए । तर हालै शिक्षा मन्त्रालयले ठाकुरलाई मन्त्रालयमा नै काजमा तानेर ठाकुरको स्थानमा निमित्त जिल्ला शिक्षा अधिकारी लेखनाथ लुइँटेललाई नियुक्ति गरेपछि अब जिल्ला शिक्षा कार्यालय र जिल्लाका शिक्षकको समस्या समाधान भएको जिल्लाका शिक्षक सङ्घ तथा सङ्गठनका पदाधिकारीले बताएका छन् ।

मन्त्रालयबाट पत्र प्राप्त गरेर निमित्त जिल्ला शिक्षा अधिकारी बनेका लेखनाथ लुइँटेलले भन्नुभयो, “आफूलाई मन्त्रालयबाट माघ ६ गते पत्र प्राप्त भएर निमित्त प्रमुख सञ्चालन गर्न निर्देशन भएअनुसार आफूले जिल्ला शिक्षा कार्यालयको प्रशासन सञ्चालन सुरु गरेको छु ।”

“चार महिनादेखि तलब नखाएका जिल्लाका सम्पूर्ण शिक्षकको तलबसमेत निकासा गरेर वितरण कार्य सुरु गरेको छु । जिल्लाका सबै शिक्षक सङ्घ तथा सङ्गठनले मलाई स्वागत गर्दै सहयोग गर्ने वचन दिएका कारण काम सुरु गरेको छु,” निमित्त प्रमुख लुइँटेलले बताउनुभयो ।

पूर्वजिशिअ ठाकुरले जिल्लामा धेरै भ्रष्टाचार गरेको र शिक्षक नियुक्ति सरुवा गर्दा घूस तथा कमिसन माग्ने गरेको आरोप लागेका कारण गतवर्ष नै ठाकुरलाई सरुवा गरिएको थियो । तर आफूनो सरुवाको अवधि नपुगेको भन्दै ठाकुर पाटन उच्च अदालतबाट अन्तरिम आदेस लिएर उदयपुर नै फर्केका कारण ठाकुरलाई आफूहरुले अस्वीकार गर्दै आएको शिक्षक सङ्घ उदयपुरका अध्यक्ष तिलकबहादुर कटुवालले बताउनुभयो ।

ठाकुर डेढ महिनाअघि पुनः जिशिका उदयपुर फर्केपछि उदयपुरका सम्पूर्ण शिक्षक सङ्घ तथा सङ्गठनले ठाकुरविरुद्ध आन्दोलन गर्दै आएका थिए भने जिल्ला शिक्षा कार्यालयसमेत बहिष्कार गर्दै आएको नेपाल शिक्षक महासङ्घ उदयपुरका अध्यक्ष अमेरन्द्र झाले बताउनुभयो ।

जिल्लामा व्यापक विवादित बनेर ठाकुर बहिष्कृत भएका कारण ठाकुरलाई मन्त्रालयले नै काजमा तानेर निमित्त प्रशासक लुइँटेललाई नियुक्ति गरेपछि बल्ल जिल्ला शिक्षा कार्यालय उदयपुरको समस्या समाधान भएको शिक्षक र शिक्षाका कर्मचारीसमेत बताउँछन् । रासस