तरुण दलको महाधिवेशन पोखरामा - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

तरुण दलको महाधिवेशन पोखरामा



पोखरा,  कात्तिक १९ गते । नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दलको चौथो महाधिवेशन यही कात्तिक २७, २८ र २९ गते पोखरामा हुने भएको छ ।महाधिवेशनको तयारीबारे जानकारी दिन पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेपाल तरुण दलका अध्यक्ष उदयशमशेर राणाले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

“यसअघि दुई/दुई पटक महाधिवेशन सरे पनि महाधिवेशनका लागि आवश्यक सबै तयारी अन्तिम चरणमा पुगेका कारण यसपटक तोकिएको समयमा नै महाधिवेशन सम्पन्न हुन्छ”– उहाँले भन्नुभयो ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार महाधिवेशनको तयारीबारे स्थलगत जानकारी लिन पार्टीका केन्द्रीय सदस्य एवम् निर्देशक समितिका सदस्य सुरेन्द्र पाण्डे, तरुण दलका अध्यक्ष राणासहितको टोली आज पोखरा आएर स्थलगत जानकारी लिएको थियो ।

राणाका अनुसार महाधिवेशनअन्तर्गत कात्तिक २७ गते पोखराको चिप्लेढुङ्गामा पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्नुहुनेछ । त्यस्तै २८ गते महाधिवेशनको बन्दसत्र पोखरा सभागृहमा सञ्चालन हुनेछ भने २९ गते निर्वाचन कार्यक्रम सम्पन्न गर्ने कार्यतालिका छ । महाधिवेशनमा झन्डै ७० जिल्लाका एक हजार ३०० प्रतिनिधि सहभागी हुने अध्यक्ष राणाले जानकारी दिनुभयो ।

देशका ६८ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको र बाँकी जिल्लामा केही विवाद भए पनि क्षेत्र र नगर अधिवेशन सम्पन्न भएकाले त्यहाँबाट प्रतिनिधि सहभागी हुन पाउने नेपाल तरुण दलका केन्द्रीय सदस्य जनमेजय तिमल्सिनाले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्ला अधिवेशन सम्पन्न गर्न नसकेका तर क्षेत्र र नगर अधिवेशन गरेका जिल्लाबाट क्षेत्रीय र नगरस्तरीय प्रतिनिधि सहभागी हुन पाउनेछन् । नुवाकोट, सप्तरी, सर्लाही, धनुषा, उदयपुर, सुर्खेत र धादिङमा विवाद देखिए पनि विवाद समाधानको प्रयास भइरहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

निर्देशक समितिका सदस्य सुरेन्द्र पाण्डेका अनुसार अधिवेशन हुन बाँकी जिल्लाले कात्तिक २४ गतेसम्म अधिवेशन सम्पन्न गरे महाधिवेशनमा सहभागी हुन पाउनेछन् । तरुण दलमा हाल ६१ सदस्यीय कार्यसमिति रहे पनि नयाँ कार्यसमिति ७५ सदस्यीय बनाउने योजना छ ।

महाधिवेशनबाट प्रादेशिक रुपमा कार्यसमितिको चयन हुने अध्यक्ष राणाले बताउनुभयो । रासस