ग्राहक ठग्ने पसल सञ्चालक फरार, कर्मचारी थुनामा - Himal Post Himal Post
  • ३ फाल्गुन २०८१, शनिबार
  •      Sat Feb 15 2025
Logo

ग्राहक ठग्ने पसल सञ्चालक फरार, कर्मचारी थुनामा



काठमाडौं-

लत्ताकपडा, जुत्ता घडीलगायत सामानमा बढी मूल्य लिई ठगी गर्ने दरबारमार्ग, न्युरोड र ठमेलका कर्मचारीलाई पक्रे पनि वास्तविक सञ्चालक अझै फरार छन्। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

कात्तिक १५ गते प्रहरी परिसर काठामाडैंले उच्च पदका केही कर्मचारीलाई पक्राउ गरे पनि सञ्चालकहरू अझै सम्पर्कविहीन छन्। परिसरले दरबारमार्ग र न्युरोड गरी १३ व्यवसायीलाई कार्यालयमा उपस्थित हुन पत्र काटेको थाहा पाएर उनीहरू फारार भएका हुन्। प्रहरी स्रोतका अनुसार अनुगमन र सिलबन्दी गर्ने आपूर्ति मन्त्रालय र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागकै असहयोगका कारण पनि सञ्चालकहरूलाई समयमै पक्राउ गर्न नसकिएको हो।

कर्मचारी पक्राउ गरेपछि सञ्चालकहरूमाथि दबाब पर्नसक्ने भन्दै प्रहरीले एक साताअघि दरबारमार्ग र ठमेलबाट १० जनालाई पक्राउ गरेको थियो। उनीहरूलाई सञ्चालकहरू फरार रहेको पसल सञ्चालन गरेको आरोपमा पक्राउ गरिएको हो।

‘कर्मचारी पक्राउ परेपछि सञ्चालकहरूमाथि दबाब पर्छ भन्ने अनुमान थियो’, काठमाडौं प्रहरी परिसरका एक अनुसन्धान अधिकृतले भने, ‘तर कालोबजारी गर्ने पसलका सञ्चालकहरू त जब्बर रहेछन्। कर्मचारी छुटाउनसमेत आएनन्।’

परिसरले दरबारमार्गको वाच एण्ड सीका अप्रेसन म्यानेजर राजेश्वर श्रेष्ठ, न्युरोडको तिरुपति प्रालिका म्यानेजर नन्दन बिहानी, दरबारमार्गकै लेबल्स स्टोर्सका म्यानेजर सुभास महर्जन र सेल्स म्यानेजर जितेन्द्र महर्जन, ठमेलको एडभेन्चर आउटडोर गियर कम्पनीका म्यानेजर रोसशन ओडारीलाई पक्राउ गरेको थियो।