काठमाडौंमा स्थानीय तह पुनसंरचना: ९ वा ११ संरचना बन्ने - Himal Post Himal Post
  • २९ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 12 2026
Logo

काठमाडौंमा स्थानीय तह पुनसंरचना: ९ वा ११ संरचना बन्ने



काठमाडौं जिल्लाले पुरानै ११ स्थानीय तहलाई निरन्तरता दिने वा ९ वटा स्थानीय तह बनाउने प्रस्ताव स्थानीय तह पुनर्संरचना आयोगमा पठाएको छ। आयोगले काठमाडौंमा ८ देखि ११ स्थानीय तह बनाउन सक्ने मापदण्ड पठाएको थियो।
जिल्लास्तरीय प्राविधिक सहयोग समितिले आयोगमा पठाएका दुई विकल्पमध्ये पहिलोमा साविकका संरचनालाई नै निरन्तरता दिने प्रस्ताव गरिएको छ।
काठमाडौंमा अहिले काठमाडौं महानगरपालिका र शंखरापुर, कागेश्वरी-मनहरा, गोकर्णेश्वर, बुढानिलकण्ठ, टोखा, तारकेश्वर,नागार्जुन, चन्द्रागिरी, दक्षिणकाली र किर्तिपुर नगरपालिका छन्।
९ वटा स्थानीय तह बन्ने दोस्रो विकल्पमा भने शंखरापुर नगरपालिका र कागेश्वरी मनहरा नगरपालिकालाई तथा दक्षिणकाली र किर्तिपुर नगरपालिकालाई जोड्ने प्रस्ताव गरिएको छ।
पहिलो विकल्पमा जाँदा दक्षिणकाली र शंखरापुरले नगरपालिका बन्न आयोगले तोकेको जनसंख्याको मापदण्ड पुरा गर्न सक्दैनन्। आयोगले काठमाडौं उपत्यकामा नगरपालिका बन्न न्युनतम ६० हजार जनसंख्या हुनुपर्ने मापदण्ड राखेको छ। शंखरापुरको जनसंख्या २५ हजार मात्रै छ भने दक्षिणकालीको २४ हजार मात्रै छ।
काठमाडौं उपत्यकमा गाउँपालिका बनाउने प्रावधान आयोगको मापदण्डमा छैन।
त्यसैले जिल्लास्तरीय प्राविधिक समितिले पठाएको पहिलो विकल्पमा यी दुई संरचनालाई गाउँपालिका वा नगरपालिका भन्ने स्पष्ट नगरी आयोगमा पठाएको छ।
दोस्रो विकल्पमा भने आठ नगरपालिका र एक महानगरपालिका हुनेछ।
आयोगले मापदण्डका आधारमा दुवै विकल्पको मुल्यांकन गरी निर्णय गर्नेछ।